जति आधुनिकता आए पनि अझैसम्म १२ बर्ष पछि खोला फर्किने उखान हराएको छैन। हाम्रो देशका नदीहरू पनि आफ्नो सिमाना तर्फ फर्किन थाली सकेका छन ।
नेपालीहरु खाली ठाउँ देख्ने बित्तिकै कि त त्यहाँ फोहोर फ्याँक्छौ कित कब्जा गर्छौ। त्यही बानी अहिले हाम्रो लागि निल्नु न ओकल्नु भएको छ । केही रुपियाँको लोभले नदीको किनारलाई समेत आफ्नो नाममा पास गरेर कसैले रिसोर्ट बनायौ, कसले आलिसान महल ठड्याउन समेत भ्याइयो । हाम्रो ध्यान किनारामा रुख बिरुवा रोप्नु को सट्टा सिमेन्टको पिल्लर ठड्याउन तर्फ गयो । नदीलाई खोला हुदै नहरमा परिवर्तन गराउन पनि पछि हटेनौ तर उखान त हामीलाई थाहै छ, १२ बर्ष पछि खोला फर्किन्छ । खोला फर्कियो आफ्नो हिस्साको जग्गामा फेरि आफ्नो अधिकार जमायो। हामी नेपालीको लागि दिनभरिको शिकार कान्छा बाउको अनुहार भयो ।

नेपालमा पर्ने मुसलधारे पानीका कारण बाढी, पहिरो आउँदा प्रायः नदी किनारका बस्ती,संरचनामा धेरै हानी पुर्याएको इतिहास त हामीलाई थाहै छ।
मुलकोटको नदी बगरमा बनाइएको रिसोर्ट अहिले बगरमा परिवर्तन भएको छ। सन २०२१मा मेलम्ची नदीमा बाढी आउँदा मेलम्ची नगरपालिकामा मात्रै ३० अर्ब रुपैयाँ भन्दा बढीको क्षति भएको थियो ।नगरपालिका क्षेत्रमा मात्रै १,५०० रोपनी जग्गा क्षति भएको अनि २१५ परिवार विस्थापित हुनुपरेको थियो।
अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका नदीहरूमा बाढी आउँदा बागमती नदी किनाराका बस्तीहरू जलमग्न भएको यि घटनाहरु त केवल प्रतीनीधि घटना मात्र हो ।
आफ्नो जीवन भरको कमाइ लगाएर नदी छेउमा बनाएको आलिसान महल तासको घर जस्तो छरापस्ट भएको दृश्य त हामीले सामजिक संजालमा देखिनै रहेका छौ।
खोलाको किनार कब्जा गर्नु हाम्रो गल्ती कि बेइमानी ?
माथिको प्रश्नलाई एउटा कहानीबाट बुझौं। मानी लियौ तपाइ आफ्नो विशेष कामले घर छाडेर केही दिनको लागि कतै जानु भएको थियो । यही मौका छोपेर छिमेकीले तपाइको घर राम्रो देखेर कब्जा गरीदियो । केही समय पछि घर फर्किनु भयो र जसरी तसरी तपाइले आफ्नो छिमेकीलाई घरबाट निकालिदिनु भयो ।
तपाइको छिमेकी बाहिर यो भन्दै छ कि, तपाइले उसलाई घरबाट निकालेर बित्दण्ड मचाउनु भयो । अन्याय गर्नुभयो, बलको प्रयोग गर्नु भयो । यो कुरा मनन गरौ के आफ्नो घर कसैको कब्जाबाट फिर्ता लिनु अन्याय होर । हामीले पनि नदीको किनार मिचेर संरचना खडा गरेका थियौ, नदी आयो आफ्नो जग्गा फिर्ता लियो। नदी किनार कब्जा गरेर घर बनाउनु हाम्रो गल्ती कि बेइमानी यसको उत्तर खोज्ने जिम्मेवारी चाहिँ तपाइलाई छाडिदिए।
सबैलाई आफ्नो चिज प्यारो लाग्छ खोलालाई पनि त आफु हिड्ने बाटो प्यारो नहोला र ।
सामाजिक सञ्जालमा एउटा लेख एकदमै भाइरल छ ।
म नदी हु ॥
रैथाने जनताको जग्गा मलाइ चाहिदैन,मैले मेरो स्वतन्त्र रूपमा बग्ने अधिकार मात्रै खोजेको हो, मेरो आफ्नो वास्तविक सिमाना, भुभाग मात्रै फिर्ता मागेको हो,मलाई मेरो सदियौंदेखिको वास्तविक किनारा सम्म बग्न दिए पुग्छ। लोभी पापी बन्दै मेरो बग्ने ठाउँ ,किनारा लगायत पवित्र घाट समेत बाँकी नराखी विकासको नाममा, राजनीतिक तथा ब्यक्तिगत स्वार्थको नाममा अतिक्रमण गरी हडपेर सक्कायौ। त्यो मेरो विशाल र खुल्ला बागमती र बिष्णुमति सभ्यता मासेर सानो गल्छी र ढलमा परिणत गर्यौ। हे! मानव आज म प्राकृतिक रूपमा बग्न खोज्दा मेरो के दोष ? मलाई गाली नदिनु है, मैले कसैलाई विस्थापित गरेको होइन, डुबाएको छैन, कसैको घर घरमा पसेकी छैन। घर, बाटो पसल मेरो जग्गा भित्र पसेको हो, बाध्य भै म आफ्नो जग्गा नाप्दै छु, मलाइ मेरो सिमाना भित्र बग्न देउ, जनताको जग्गा मलाई चाहिदैन। म आफ्नो मिचिएको मेरो जग्गा नाप्दैछु, म मेरो सिमाना नाप्दै छु।
१२ बर्ष पछि खोला फर्कियो, उसले आफ्नो घर फिर्ता लिएर गयो । बुढापाका भन्ने गर्छन, “आगो र पानीसँग मजाक नगर्नु ।” नदी नदी हो उसलाई स्वतन्त्र बग्न दिऔँ।
यति लेख्दा लेख्दै कविता पनि दिमाख आइहाल्यो यसलाई पनि ग्रहण गर्नुहोला।
म मजबुर थिए ।
म आउने बाटो तिमले छेकिदिएका रहेछौँ।
तिम्रो घर भत्काउने चाहना थिएन ।
मेरो बगरमा तिमले आलिसान महल ठड्याएका रहेछौँ।
मैले तिम्रो लागि भनेर
हिमालबाट जडिबुटी मिसाएर पञ्चामृत ल्याए
तिमले त मेरो लागि प्लास्टिक अनि ढल
तयार पारेका रहेछौँ ।
मैले तिमलाई जीवन दिए
तिमले त मेरो मृत्युको रुपरेखा तयार पारेका रहेछौँ।
पुल माथिबाट मेरो विराट रुप हेर्छौ भनेर सोचेकी थिए।
तिमले त मेरो अस्तित्व नै मेटाइदिएका रहेछौँ।
म मजबुर थिए तिम्रो घर भत्काउन
म ठुली भइसकेकी थिए
तिमले छुट्याइदिएको बाटोमा हिड्न सकिन।।




