विराटनगर । अत्याधिक गर्मीका कारण एकै बर्ष युरोपमा ६२ हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ।
सन २०२४ मा गर्मीका कारण ६२ हजार ७ सय ७५ जनाको मृत्यु भएको बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थ (ISGlobal) को अध्ययनले देखाएको छ। उक्त अध्ययन नेचर मेडिसिनमा पनि छापिएको छ।

यसरी मृत्यु हुनेको संख्या २०२३ को भन्दा २३.६ प्रतिशतले धेरै हो । उक्त बर्ष युरोपमा ५० हजार ८ सयको मृत्यु भएको थियो।
सन २०२४ औद्योगिक क्रान्तिपछि अहिले सम्मकै तातो वर्षको रुपमा मापन गरिएकोपनि उक्त अध्ययनमा उल्लेख छ ।
गर्मीका कारण मृत्यु हुनेमा सबैभन्दा धेरै इटलीका रहेका छन्। त्यहाँ सन २०२४ को गर्मीमा १९ हजार बढी मानिसको मृत्यु भएको थियो। यो सङ्ख्या २०२३ मा १३ हजार ८ सय रहेको थियो ।
उक्त अध्ययन युरोपको ३२ वटा देशका ६ सय ५४ वटा क्षेत्रमा गरिएको हो ।
पछिल्लो समय जलवायु परिवर्तनका कारण पृथ्वीमा जनजिवन गम्भीर रुपले प्रभावित हुँदै गएको विज्ञहरुले बताउँदै आएका छन्। उनीहरुले पृथ्वीको सबैभन्दा ठूलो समस्या जलवायु परिवर्तन भएको तर यसलाई रोक्न प्रयाप्त पहल नभएको भन्दै चिन्ता व्यक्त गर्दै आएका छन ।




