धार्मिक र सामाजिक मान्यताहरूको नाममा अझै पनि पशुबलिको चलन कायमै छ। पशुबलि गर्नु भनेको एउटा निर्दोष प्राणीको हत्या गर्नु हो। यो एकदमै क्रूर र अमानवीय कार्य हो।
केही पशुबलि गर्नेहरूको तर्क के हुन्छ भने, पशुबलि गर्नाले देवता प्रसन्न हुन्छन् र मनोकामना पूरा हुन्छ। तर, यो तर्क कुनै पनि वैज्ञानिक आधार बिनाको छ।
पशुबलि दिनेहरू प्रायः अशिक्षित र अन्धविश्वासी हुन्छन्। उनीहरूलाई पशुबलि गर्नुको पछाडिको वैज्ञानिक कारण थाहा हुँदैन। उनीहरू केवल परम्परागत मान्यतालाई पछ्याउँछन्। पशुबलि गर्नु भनेको मानिसको क्रूरता को प्रतीक मात्र हो।

पशुबलि मानिसको कमजोरीको प्रतिक मात्र हो। जहाँ एउटा कमजोर निहत्था जनावरलाई मारेर भगवान खुशी हुन्छन भन्ने धारणा राखिन्छ ।
भगवानको लागि हामी सबै उसको सन्तान हौ । फेरि एउटा सन्तानको बली लिएर भगवान कसरी खुशी हुन्छन होला त ? त्यसैले भगवान खुशी हुन्छन भनेर पशु बलि दिनु ब्यर्थ हो भन्ने लाग्छ । आफ्नै एक सन्तानले अर्को सन्तानलाई मार्दा भगवान् कदापि प्रशन्न हुनुहुन्न।
भागवत गीता जस्तो महान ग्रन्थमा समेत कतै पशुबलिको उल्लेख छैन।
प्रशिद्ध वेदांत शिक्षक आचार्य प्रशांत जो विगत २० बर्षभन्दा लामो समयदेखि भागवत गीता, अष्टावक्र, कठोपनिषद जस्ता ग्रन्थहरू पढाउदै आउनुभएको छ । उहाँ भन्नु हुन्छ, “बली नै दिने भए आफ्नो अहंकारको, रीस, डर, लोभ जस्ता मान्छेमा भएको पशु रुपी गुणको दिने हो।”
मानव सभ्यताको विकाससँगै जनावर र मानिसबीचको सम्बन्धमा धेरै उतारचढाव आएका छन्। प्रारम्भिक कालदेखि नै मानिसले जनावरलाई आफ्नो जीवनयापनका लागि प्रयोग गर्दै आएको इतिहास छ। खाद्य, वस्त्र, कृषि कार्य, यातायात आदिमा जनावरको भूमिका अत्यन्त महत्वपूर्ण रहिआएको छ। तर, समयक्रमसँगै मानिसको जनावर प्रतिको दृष्टिकोणमा परिवर्तन आएको छ। केही मानिसले जनावरलाई केवल वस्तुका रूपमा मात्र हेर्छन् भने केहीले जनावरलाई पनि मानिस सरहको जीव मान्छन्।
प्रकृतिमा सबै जीवित प्राणीहरू बराबरका छन्। जनावरहरू पनि स्वतन्त्र भएर बाँच्न चाहन्छन्, खुसी हुन चाहन्छन् र आफ्नो परिवारसँग बस्न चाहन्छन्। जनावरहरूलाई पनि पीडा हुन्छ, रोग लाग्छ र मर्छन्। त्यसैले, जनावरहरूलाई पनि स्वतन्त्र भएर बाँच्न दिनु पर्छ।
हामी सबैले यो कुरा बुझ्नुपर्छ कि, जनावरहरू पनि हामीजस्तै जीवित प्राणी हुन्। उनीहरूलाई पनि स्वतन्त्र भएर बाँच्नको लागि चाहना हुन्छ।




