काठमाडौं । “गर्न सके त देशमै सबै थोक छ, विदेशमा पैसाको बोट छैन । थौरै पैसा कमाउन धेरै मेहेनत गर्नुपर्छ । धेरै पैसा कमाएर परिवारलाई सुख दिन मन त कसलाई नहोला र’’– यो भनाइ कृषि व्यवसायी रामचन्द्र अधिकारीको हो।
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–१० पाङताङ(घुङा)का रामचन्द्र अधिकारी सामान्य परिवारमा हुर्केका साधारण व्यक्ति हुन् । करिव तीन बर्षको लामो समय परदेशी भूमीमा दुख गरेर स्वदेशमै केही गर्छु भनी फर्केका उनी अहिले गाउँमा कृषि पेशामा आवद्ध छन् ।
अहिलेको परिस्थितीमा हरेक दिन नेपाली युवायुवतीहरु विदेशीएको अवस्थामा पनि ३० बर्षिय अधिकारी कुखुरापालन व्यवसायमा रमाइरहेका छन् । विहानदेखि बेलुकासम्म कुखुरापालन व्यवसाय मात्र नभएर बाख्रापालन, तरकारीबालीमा समेत हात हालेका छन् ।
गाउँमै रहेको श्री ब्रम्हायणी प्राथमिक विधालयबाट आधारभूत तह पार गरी मा.वि. र उच्च मा.वि तह अध्ययनका लागि घनघोर जंगल खोलानालाको बाटो हिडेर करीब दुई घण्टा लाग्ने श्री रत्नराज्य उच्च मावि चनौनेबाट उनले एस.एल.सी.र २०६८ सालमा प्रविणता प्रमाणपत्र तह पार गरे । पढाइ सकेपछि कामको शिलशिलामा काठमाडाैं आएका उनले विभिन्न ठाउँमा भौतारीएर काम गर्न थाले ।

सहर गएर काम गर्छु, पढाइलाई पनि अगाडी बढाउँछु भनेर गाउँबाट काठमाडौं आएका उनी सोचेको जस्तो कहाँ हुन्थ्यो र अन्जान सहरमा चिनेको कोही छैन काम पाउन मुस्किल, काम पाइहाले पनि पारिश्रमिक कम त्यहीमाथि समय नमिलेको कारण पढाईलाई निरन्तरता भने दिन सकेनन् । दुख नै भएपनि केही बर्षसम्म काम गरिरहे । विस्तारै जिम्मेवारी बढ्दै गएपछि विदेशतिर जाने निर्णयले उनी परदेशीएका थिए ।
आफ्नो र परिवारको भविष्य सोचेर ठुलो सपना बोकी परदेशीएका उनी सुःख दुःख जे जस्तो भएपनि ३ बर्ष परदेशमा विताई स्वदेश नै फर्किए । स्वदेश फर्किएपछि आफ्नै गाउँठाउँमा केही गर्छु, स्वदेशमै रमाउछु, विदेशमा बगाउने पसिना नेपालमै बगाउँछु भन्ने दृढताका साथ कृषि तथा पशुपालन पेशामा लाग्ने निधो गरे र झण्डै ३ लाख रुपैयामा लागानी गरे ।
२०७२ सालमा गएको भुकम्पले उनले संचालन गरेको फर्ममा ठुलो क्षति पुग्यो । तैपनि उनी आत्तिएनन्, हिम्मत हारेनन्, कोशीस गर्दै गए । अहिले उनी गाउँबाट नजिकैको बजारमा कृषि फर्म खोलेर कृषि व्यवसाय गरिरहेका छन् । उनले लोकल, ब्रोइलर कुखुरा, खसीबोका तथा अन्य मौसमी तरकारीहरु लगायत कृषितर्फ उदाहरणीय नमुना कृषकको रुपमा काम गर्दै आईरहेका छन् ।

रामचन्द्रको परिवारमा ९ जना सदस्य रहेका छन् । आमा बाबा गाउँमै खेतिकिसानी गर्छन् भने भाईबुहारी सहरमा बस्छन् । उनी आफ्नो श्रीमती र छोराछोरीसँग बस्छन् । उनकी श्रीमती मन्जु पनि उनको काममा एकदम खुशी रहेको उनी बताउँछन् । परिवारहरुको साथ सर्पोट र हौसलाले गर्दा आफुले गरेको काम सफल भएको उनको भनाई छ ।
उनको कृषि पेशाबाट बार्षिक आम्दानी पनि राम्रै भइरहेको उनी बताउँछन् । आफ्नै देशमा परिश्रम गरेर जिवीकोपार्जन गर्न सकिन्छ, खुसिसाथ आफ्नो परिवारहरुसँग सःुखदुःख साटासाट गर्न सकिन्छ भन्ने हौसलाकै कारण परदेशीन लागेका स्थानीय युवाहरुसमेत उनको मेहेनत र परिश्रम देखेर स्वदेशमै केही गर्छौँ भन्नेमा प्रेरित छन् । एक शिक्षित युवा कृषि व्यवसायमा भविष्य देखेर काम गरेका कारण उनी प्रशंसाका लायक भइरहेका छन् । आउदा दिनहरुमा कृषि व्यवसायमा थप लगानी गर्ने उनले बताएका छन ।






