अफ्रिकी देशहरूमा जिराफको संख्या पछिल्लो समय डरलाग्दो तरिकाले घट्दै गइरहेको छ ।
बासस्थानको क्षति, सिकार, सहरीकरण, जलवायु परिवर्तन र खडेरीको कारण जिराफको संख्या घट्दै गएको सिएनएनको समाचारमा उल्लेख छ।

अमेरिकी फिस एण्ड वाइल्ड लाइफ सर्भिसले जिराफका तीन उप-प्रजाति पश्चिम अफ्रिकी, कोर्डोफान र न्युबियनलाई दुर्लभ प्रजातिको रूपमा सूचीबद्ध गर्न प्रस्ताव गरेका छन। यी जिराफको संख्या १९८५ देखि लगभग ७७ प्रतिशतले घटेको छ। २५ हजार ६ सय ५३ बाट घटेर हाल ५ हजार ९ सय १८ वटा मात्र रहेको छ । त्यसै गरी पूर्वी अफ्रिकाका दुई उप-प्रजातिहरू रेटीक्युलेटेड र मसाई लाई दुर्लभताको सुचीमा सूचीबद्ध गर्ने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव पारित भएसँगै अफ्रिकाको स्तनधारी जनावरले लोपोन्मुख प्रजाति ऐन अन्तर्गत संघिय सुरक्षा पाउने पहिलो पटक हो । यदि प्रस्तावलाई अन्तिम रूप दिइयो भने, प्रस्तावित नियमले जिराफहरूको अवैध शिकार र व्यापारलाई रोक्नुका साथै अमेरिकामा अनुसन्धान र संरक्षणको लागि आयात गर्न अनुमति मिल्नुका साथै
जिराफको सुरक्षाको निम्ति नयाँ वित्तीय कोष विस्तार गर्न सकिने खबरमा उल्लेख छ ।
‘संघीय संरक्षणले जिराफहरूका कमजोर प्रजातिको संरक्षण, जैविक विविधता, पर्यावरणीय स्वास्थ्यलाई समर्थन, वन्यजन्तु बेचबिखन विरुद्ध लड्न र दिगो आर्थिक अभ्यासहरूलाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ।’ अमेरिकी फिस तथा वाइल्ड लाइफ सर्भिसकी निर्देशक मार्था विलियम्सले विज्ञप्ति मार्फत बताउनु भएको छ । ‘यस कार्यले जिराफ संरक्षणलाई समर्थन गर्दछ जबकि संयुक्त राज्यले जिराफको पतनमा थप योगदान नगर्ने सुनिश्चित गर्दछ।’
जिराफका अंगहरु बेचबिखन हुने अमेरिका ठुलो बजार हो । २०१८ को एक रिपोर्ट अनुसार पछिल्लो एक दशकमा ४० हजार जिराफका अंगहरु अमेरिकामा भित्र्याइएको थियो। अमेरिकी नागरिकहरु अफ्रिका गएर जिराफको सिकार गर्ने गरेका छन ।
पर्यावरणीय समूहहरूले संघीय संघिय सुरक्षा अधिकारीहरूलाई २०१७ देखि नै जिराफलाई लोपोन्मुख प्रजातिको रुपमा घोषणा गरी संरक्षण गर्न आह्वान गर्दै आएका छन्। एजेन्सीले फेब्रुअरी १९, २०२५ सम्म प्रस्तावमा सार्वजनिक टिप्पणीहरू सङ्कलन गर्नेछ, र यसलाई एक वर्ष भित्र अन्तिम रूप दिने अपेक्षा गरेको छ।




