पृथ्वीको तापक्रम औषतमा १.५ डिग्री सेल्सियस भन्दा माथि गएमा भयंकर खडेरी र बाढी जस्ता प्रकृतिक प्रकोपको सामना गर्नु पर्ने जलवायु विज्ञको भनाइ छ ।

पृथ्वीको औषत तापक्रम बृद्धिदर १ डिग्री सेल्सियसले बढ्दा एक दशकमा १ पटक भयंकर बाढी र खडेरीको सामाना गर्नु पर्दछ भने १.५ डिग्री सेल्सियस पार भएर ३ डिग्री सेल्सियससम्म पुग्यो भने एक दशकमा ठुला बाढी र खडेरी ३/४ पटकसम्म आउने जलवायु विज्ञ मञ्जित ढकालको भनाई छ।

बाढीको संकट
वितेको केही बर्षमै नेपाल लगायतका देशहरूले चरम मौसमी संकटको सामना गर्नु पर्यो ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार यही बर्ष असोज १० गते देखि १३ गतेसम्म परेको अबिरल बाढीको कारण २५० जनाको मृत्यु भएको थियो भने ४६ अर्ब रुपैयाँ भन्दा धेरैको क्षति भएको थियो । यसपटकको बर्षा ७७ बर्ष यताकै धेरै भएको प्राधिकरणको भनाई छ ।
दक्षिण भारतको केरला राज्यमा ३१ जुलाई २०२४ मा आएको बाढीना परी १५८ जनाको मृत्यु भएको थियो ।
पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार सन २०२२ को अगस्टमा आएको बाढीका कारण ३ करोड भन्दाबढी पाकिस्तानी नागरिक प्रभावित भएका थिए । उक्त बाढीमा परी १ हजार भन्दाबढीले ज्यान गुमाएका थिए ।
ब्राजिलमा २२ फेब्रुअरी २०२२ मा आएको बाढीमा परी १४६ जनाको मृत्यु भएको थियो । त्यसबेला ५ दिनसम्म लगातार बर्षा भएको थियो । उक्त बाढी सन १९३२ पछिकै सबैभन्दा ठुलो बाढी भनिएको छ। त्यसैगरी सन २०११ मा ब्राजिलको रिओ डि जेनेरो र यसको नजिकका क्षेत्रहरूमा प्रचण्ड वर्षा भए पछि बाढी र भूस्खलनका कारण ठूलो धनमालको क्षति भएको थियो। यस बाढीमा कम्तीमा ९०० भन्दा बढी मानिसहरूको ज्यान गयो र हजारौं घरहरू प्रभावित भएका थिए ।
स्पेनको भ्यालेन्सियामा अक्टोबर २०२४माआएको बाढीमा परी २ सय भन्दा बढीको मृत्यु भएको थियो ।
सन् १९७३ यता बाढीका कारणले स्पेनमा यति धेरै सङ्ख्यामा मानिसको ज्यान गएको यो पहिलो पटक भएको बिबिसीको खबरमा उल्लेख छ ।
खडेरीको सामना
नेपालले २०८० सालको हिउदमा भयंकर खडेरीको सामना गर्नुपर्यो ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार २०८० वैशाखदेखि चैत अन्तिमसम्म आगलागी र डढेलोमा परी ११५ जनाको मृत्यु भयो । सन् २००९, २०१६ र २०२१ सबैभन्दा धेरै डढेलो प्रभावित वर्ष हुन्।
दक्षिण अफ्रिकाका २ करोड ७० लाख मानिस खडेरीको कारण भोखमरीको मारमा परेका संयुक्त राष्ट्रसंघले जनाएको छ ।
यस्ता समस्या तापक्रम बृद्धिले गर्दा जलवायु परिवर्तनको कारण भएको जलवायु विज्ञ मञ्जित ढकालको भनाई छ।
हिमालमा तापक्रम बृद्धिको असर
पृथ्वीको औषत तापक्रम बृद्धिदर १.५ डिग्री सेल्सियस पार हुदाँ हिमालको ३३ प्रतिशत हिउँ पग्लन्छ भने २ डिग्री सेल्सियस पार हुदाँ झण्डै ६६ प्रतिशत भन्दा धेरै हिउँ पग्लने जलवायु विज्ञ ढकालको भनाई छ। उहाँ भन्नुहुन्छ, ‘तापक्रम बढ्दा हिउँ मात्र पग्लदैन, हिउँ पग्लेसँगै हिमताल फुट्ने जोखिम बढ्छ। यसले तल्लो तटिय क्षेत्रमा। बाढी ल्याउनका साथै जलविद्युतमा पनि ठुलो असर पार्छ ।’
नेपालको लाङटाङ राष्ट्रिय निकुञ्जमा रहेको याला हिमनदी सन् २०४० को दशकमै हराइसक्ने एक अध्ययनले देखाएको छ । विश्व मौसम सङ्गठन (डब्ल्यूएमओ) र विश्व हिमनदी निगरानी सेवाले गरेको अध्ययनले याला हिमनदी सन् २०४० को दशकमै हराउने निष्कर्ष निकालेको हो ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को अध्ययन अनुसार हिन्दुकुश हिमालय क्षेत्रको तापक्रम वृद्धि विश्वको औसत तापमान वृद्धिभन्दा दोब्बर गतिमा भइरहेको छ ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेमा गत साउन ३२ गते शुक्रबार हिमताल फुटेर बाढी बस्तीमा पस्दा ठूलो क्षति भएको थियो। बाढीले खुम्बु पासाङल्हामु-५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाउनुका साथै बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको थियो।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले १४ मे २०१९ मस सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालका २१ हिमताल फुट्ने जोखिममा छन् । भने हिमाल पग्लिदा हिन्दुकुश क्षेत्रका १ अब ३० करोड मानिसको पिउने पानीमा प्रभाव पार्ने इसिमोडको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
तापक्रम बृद्धिदर १.५ डिग्री सेल्सियस पार भयो भनेर कसरी मापन गरिन्छ? / तापक्रम बृद्धिदर घटाउन विश्व समुदायले गरेको प्रयास
सन २०२४ को अधिकांश महिनाको तापक्रम बृद्धिदर १.५ डिग्री सेल्सियस भन्दा धेरै भएपनि यसलाई पृथ्वीको औषत तापक्रम बृद्धिदर १.५ डिग्री पुगेको मान्न नसकिने जलवायु विज्ञ मञ्जित ढकालको भनाई छ। तापक्रम बृद्धिदर १.५ डिग्री सेल्सियस हुन पेरिस सम्झौता अनुसार लगतार पृथ्वीमा तापक्रम १० बर्षसम्म १.५ डिग्री सेल्सियस पार भए मात्र पृथ्वीको औषत तापक्रम बृद्धिदर १.५ डिग्री पार भएको मान्न सकिने बताउनु भएको छ ।
‘पृथ्वीको औषत तापक्रम बृद्धिदरलाई१.५ डिग्री सेल्सियसमा नियन्त्रण गर्न सम्भव छ। त्यसकोलागि सन २०१९ को तुलनामा २०३० सम्ममा ४३ प्रतिशतले कार्बन उत्सर्जन घटाउन पर्छ। २०१९ को तुलनामा २०३५ मा ६५ प्रतिशत कार्बन उत्सर्जन घटाउन पर्छ।’ उहाँ भन्नुहुन्छ हुन्छ,’ विश्वमा राजनीतिक प्रतिबद्धता र साझा पृथ्वीलाई हामी बाच्न योग्य बनाउछौँ भन्ने कुरा सोच्ने हो प्राविधिक स्तरबाट हेर्दा तापक्रम नियन्त्रण अझै सम्भव छ ।’
विश्वका देशहरुले पेरिस सम्झौतालाई कार्यान्वयन गर्दा सन २०३० सम्ममा २ प्रतिशतमात्रै कार्बन उत्सर्जन घट्ने उहाँको भनाई छ ।
विश्वव्यापी तापक्रम बृद्धिदर रोक्न नेपालको भूमिका
नेपालले विश्वलाई कार्वन उत्सर्जनले गर्दा हाम्रो देशमा परेको प्रभाव देखाएर सचेत गर्न सकिन्छ । जलवायु विज्ञ मञ्जित ढकाल भन्नुहुन्छ,’ विश्वका धनी २० राष्ट्रहरु (G20) ले विबको ८५ प्रतिशत कुल गार्हस्थ्य उत्पादन ओगटेका छन्। ८० प्रतिशत कार्बन उत्सर्जन गर्न उनीहरु जिम्मेवार छन् । उनीहरुलाई जिम्मेवारी बोध गराउनको लागि अन्तराष्ट्रिय फोरमहरुमा गएर आवज उठाउन सकिन्छ । ‘
नेपालमै पनि जलवायु सम्बन्धी फोरमहरु संचालन गरेर नेपाल सरकारले आफै जलवायु परिवर्तनका बारेमा बहस गर्न सक्ने उहाँले बताउनुभयो।
नेपालले पेट्रोलियम पदार्थ सट्टा नविकरणीय उर्जाको प्रयोगमा वृद्धि गरेर पनि विश्वमा हरित गृह ग्यासको कटौती उदाहरणीय भूमिका खेल्नसक्ने बताउनु भयो ।
नेपालले पेट्रोलियम पदार्थको प्रयोगलाई घटाएर नविकरणीय उर्जा प्रयोग गर्दा खर्बौ रुपैयाँको पैसा विदेशीनबाट रोकिनुको साथै हाम्रो जिम्मेवारी नहुदाँ पनि हामीले कार्वन उत्सर्जन कटौती गर्यौ भनेर आर्थिक हिसाबले जिम्मेदार र सम्पन्न देशलाई बोध गराउन सक्ने उहाँको भनाई छ । साथै जलवायु परिवर्तनको कारण उत्पन्न हुने संकटका लागि पनि नेपाल सरकारले पुर्वतयारी थाल्नु
पर्नेमा पनि जलवायु विज्ञ मञ्जित ढकालले जोड दिनु भयो ।




