जलवायु परिवर्तनका कारण मानवीय द्वन्द्व बढ्न सक्ने सम्भावना धेरै देखिएको छ । विज्ञहरुले मानवीय द्वन्द्व बढेर युद्धको अवस्था पनि हुन सक्ने जोखिम रहेको औँल्याएका छन् ।
जलवायु विज्ञ धर्मराज उप्रेतीका अनुसार खडेरी पर्ने, अधिक बर्षा हुने र हिमालका हिउँहरु तीव्र रुपमा पग्लँदा मानिसलाई आवश्यक पर्ने स्रोत साधनहरुमा कमी आउने छ। जमिन, खाद्यान्न, पानी र आवास सबै क्षेत्रमा संकट उत्पन्न हुने जनाइएको छ ।

यस्तो अवस्था सिर्जना भएपछि व्यक्ति–व्यक्ति, अन्तर समुदाय तथा राष्ट्र–राष्ट्र बीच युद्ध हुनसक्ने सम्भावना रहेको छ । उप्रेतीका अनुसार पानीकै विषयमा पनि आउँदा दिनहरुमा नेपाल र भारतबीच सङ्घर्ष उत्पन्न हुनसक्छ ।
लगतार ३ बर्षदेखि हिउँदे वर्षामा औसत ८० प्रतिशतले कमी आएको र यसले खाद्यान्न उत्पादनमा कमी ल्याउनका साथै अनिकाल समेत लाग्न सक्ने जलवायु विज्ञ उप्रेतीको भनाई छ ।
नेपालमा गत बर्ष असोजमा आएको अविरल वर्षासँगैको बाढीले कृषिबालीमा ६ अर्ब रुपैयाँभन्दा बढी मूल्य बराबरको क्षति पुर्याएको सरकारले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
जलवायु विज्ञ राजु पण्डित क्षेत्रीले समुद्री सतहको बृद्धिले तटीय क्षेत्रमा बसेका सहरहरुमा कृषि र वासस्थानको समस्या आउन सम्भावना रहेको औंल्याएका छन् ।
उनी भन्छन् ‘हजारौं वर्षदेखि जमेको हिउँ पछिल्लो समय तीव्र रुपमा पग्लिँदै छ । यसले समुद्रको सतह बढाउँछ र नुनिलो पानी तटीय क्षेत्रको खेतीयोग्य जमीनमा पुग्दा माटोको उर्वराशक्तिमा कमी आउँछ । त्यसैगरी समुद्री सतहको वृद्धिले तटीय क्षेत्रहरूका जमिन डुबाउँदा वासस्थानको पनि समस्या आउन सक्छ ।’
समुद्री सतहको बृद्धिका कारण विस्थापित मानिसहरु नयाँ ठाउँमा जाँदा पुराना बासिन्दासँग स्रोत साधनहरुको बाँडफाँडको विषयलाई लिएर द्वन्द्व उत्पन्न हुन सक्ने उनको भनाइ छ ।
दक्षिण प्रशान्त महासागरमा अवस्थित एउटा सानो टापु देश तुवालुको अस्तित्व समुद्री सतहको वृद्धिका कारण संकटमा परेको छ । सन् २०५० सम्ममा तुवालुको महत्वपूर्ण भूभाग एटोल र फनफुटी डुबिसक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
एटोलमा मात्रै तुवालुको ६० प्रतिशत जनता बस्छन् । २६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको तुवालुको जनसङ्ख्या ११ हजार छ भने यो देश समुद्री सतहदेखि २ मिटर उचाईमा अवस्थित छ ।
बैंकक, ढाका, मियामी लगायतका ११ वटा समुन्द्री तटमा बसेका सहरहरु सन् २१०० सम्म हराउन सक्ने वर्ल्ड इकोनोमिक्स फोरमको २०१९ को प्रतिवेदनले देखाएको छ ।




