विराटनगर । उद्योगी चन्द्र ढकालको केवलकार परियोजनाले रुख काटेपछि त्यसको प्रतिकृयास्वरूप प्रशिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा ‘नो केवलकार’ अभियानअन्तर्गत ५ हजारभन्दा बढी बिरुवा रोपिएको छ।
शनिबार र आइतबार दुई दिनको अवधिमा वृक्षारोपण सम्पन्न गरिएको हो। गोरखापत्र अनलाइनका संवाददाता चन्द्र पादकका अनुसार यो अभियान मुक्कुमलुङ संरक्षण प्रयासको एक भागका रूपमा सञ्चालन गरिएको हो।

रोपिएका बिरुवामध्ये लालीगुराँस, चिमाल, लौठ सल्ला, ढ्याङ्ग्रे सल्ला, गोब्रे सल्ला, बलु लगायतका स्थानीय प्रजातिका बिरुवा छन्, जसले वातावरण संरक्षणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
गत वर्ष चन्द्र ढकाल नेतृत्वको पाथीभरा दर्शन केवलकार कम्पनीले केवलकार निर्माणका लागि लालीगुराँससहित थुप्रै महत्वपूर्ण रुखहरू फँडानी गरेको थियो, जसको व्यापक आलोचना भएको थियो।
यस वृक्षारोपण अभियानलाई स्थानीय बासिन्दा, अभियन्ता र संरक्षणकर्मीहरूले स्वागत गरेका छन्।




