अमेरिकी अन्तर्राष्ट्रिय सहयोग युएसएड (USAID) को बजेट रोकिए सँगै सन् २०३० सम्म १ करोड ४० लाख मानिसको मृत्यु हुन सक्ने एक अध्ययनले चेतावनी दिएको छ। तीमध्ये ४५ लाखभन्दा बढी पाँच वर्षमुनिका बालबालिका छन्, जो विशेष जोखिममा रहेको अध्ययनमा उल्लेख गरिएको छ।
‘द लान्सेट’ नामक विश्वप्रसिद्ध वैज्ञानिक जर्नलमा प्रकाशित अध्ययन अनुसार, युएसएडको सहायता रोकिएसँगै बालबालिका, कमजोर जनसंख्या र विकासशील राष्ट्रहरूमा जीवन रक्षक स्वास्थ्य सेवाहरू प्रभावित भएका छन्।

अमेरिकाले युएसएड रोकेसँगै जर्मनी, बेलायत र फ्रान्स लगायतका युरोपेली मुलुकहरूले पनि आफ्नो अन्तर्राष्ट्रिय सहायता घटाउने संकेत दिएका छन्। अध्ययन अनुसार, यदि युरोपेली राष्ट्रहरूले पनि सहायता कटौती गरे, थप लाखौं मानिसको ज्यान जान सक्नेछ।
सन् २००१ देखि २०२१ को बीचमा, युएसएडले ९ करोड १० लाखभन्दा बढी मानिसको ज्यान बचाएको अनुसन्धानले देखाइएको छ। विशेषगरी बालबालिकाको ज्यान बचाउन युएसएड प्रभावकारी देखिएको छ । जसअनुसार युएसएड कार्यान्वयन भएका देशहरूमा बाल मृत्युदरमा ३२ प्रतिशतले कमी आएको थियो।
अध्ययनकर्ताहरूका अनुसार, युएसएडबाट रोकिएको स्वास्थ्य, पोषण, रोग नियन्त्रणजस्ता कार्यक्रमहरू पुनः सुरु नगरे बालबालिकाहरूको जीवनमा गम्भीर संकट आउन सक्नेछ। यसलाई महामारी वा युद्धसरहको मानवीय संकटका रूपमा व्याख्या गरिएको छ।




