उष्ण कटिबन्धीय क्षेत्रमा वनविनाशका कारण २० वर्षको अवधिमा ५ लाख मानिसको मृत्यु भएको छ।
यसै हप्ता नेचर क्लाइमेट चेन्जमा प्रकाशित एक अध्ययन अनुसार सन २००१ देखि २०२०को अवधिमा पृथ्वीमा यति धेरै मानिसको मृत्यु वनविनाशको कारणले भएको हो। वनविनाशकै कारण प्रत्येक वर्ष २८ हजार मानिसको मृत्यु हुने गरेको छ।

उष्ण कटिबन्धीय क्षेत्रमा भएको वनविनाशका कारण ३० करोडभन्दा बढी मानिस उच्च तापक्रमको जोखिममा परेको उक्त अध्ययनमा उल्लेख छ।
उच्च तापक्रमको जोखिममा सबैभन्दा धेरै इन्डोनेसियाका ४ करोड ८० लाख , कङ्गोका ४ करोड २ लाख र ब्राजिलका २ करोड १ लाख नागरिक परेका छन्।
सन् २००१ देखि २०२० सम्मको अवधिमा १६ लाख वर्ग किलोमिटर वन विनाश भएको छ। जसमा दक्षिण अमेरिकाको ७ लाख ६० हजार वर्ग किलोमिटर जङ्गल, अफ्रिकाको ३ लाख ४० हजार वर्ग किलोमिटर र दक्षिण पूर्वी एसियाको ४ लाख ९० हजार वर्ग किलोमिटर जंगल काटिएको छ।
वनविनाशका कारण प्रत्येक वर्ष उष्ण कटिबन्धीय क्षेत्रहरू दक्षिण अमेरिकामा ०.३४ डिग्री सेल्सियस, अफ्रिकामा ०. १० डिग्री सेल्सियस र दक्षिण एसियाका क्षेत्रहरुमा ०.७२ डिग्रीले तापक्रममा वृद्धि हुने गरेको छ।




