काठमाडौँ । कुनै समय विदेशी भूमिमा संघर्ष गरेर परिवारको जिविका चलाएका साँहिला तामाङ अहिले आफ्नै गाउँमा सुन्तला खेती गरेर आत्मनिर्भर बन्न सफल भएका छन् । परदेशको दुःख, पसिना र संघर्षलाई नेपालमै रुपन्तारण गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् उनी ।
४६ बर्षिय साँहिला तामाङ मेहनती किसान जो सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–४ पाङताङ(घुङा)का बासिन्दा हुन् । उनले गाउँकै विद्यालय बाट प्राथमिक तह र नजिकैको श्री रत्नराज्य उच्च मा.वि. चनौटेबाट २०५२ सालमा एस.एल.सी. पास गरे । एस.एल.सी. पश्चात कामको शिलशिलामा धैरै ठाउँमा भौतारीए । नेपालमा राम्रो रोजगारीको अवसर नपाएपछि उनले विदेशको बाटो रोजे ।

२०५८ सालतिर रोजगारीको शिलिशलामा विदेशिएका उनले करीब ५ बर्ष परदेशी भूमीमा कठिन काम गर्दै परिवारको लागि दुःख गरे तर परदेशको जीवनले उनलाई सन्तुष्टि भने दिएन ।
साहिला तामाङ भन्छन्न्,’रदेशमा कमाएको पैसाले केहि गर्न सकिन । आफ्नै माटोमा केहि गर्न सके भने जीवनभर आत्मनिर्भर हुन सकिन्छ भन्ने सोचेर २०६३ सालतिर नेपाल फर्किए।’
उनी नेपाल फर्किएपछि कृषि व्यवसाय सुरु गर्ने योजना त बनायए तर सजिलो कहाँ थियो र । मुख्य समस्या नै पैसाको थियो । फेरी यताउता काम गरेर पैसा कमाउछु र सुन्तला खेती गर्छु भन्ने सोचेर विभिन्न संघसंस्था र हाईड्रोपावरमा काम गर्न थाले । विदेश जाने सोच भने बदलिएको थियो उनको ।
करीब १० बर्षजति विभिन्न ठाउँमा काम गरी व्यवसायमा लगानी गर्न सक्ने भएपछि २०७६ सालमा तामाङ आफ्नै गाउँ फर्किय । गाउँ फर्कियपछि उनले ६ रोपनी जमिन तयार गरी सुन्तला खेतीको सुरुवात गरे । झण्डै २ सय को हाराहारीमा विभिन्न प्रजातीका सुन्तलाको बोटहरु तयार गरी कृषि व्यवसायको सुरुवात गरेका उनले सुन्तला मात्र नभएर मौषम अनुसार अदुवा, बेसार, भटमास, कागती र अम्रिसो कुचो पनि लगाउने गरेका छन् ।

पहिलो बर्ष संघर्षपूर्ण रह्यो । उर्वर भूमि भएपनि उन्नत जातका विरुवा, सिंचाई, औषधी र बजार व्यवस्थापनले चुनौती दियो । सुरुसुरुमा गाउँका स्थानीयहरु पनि उनको काममा खुसि भने थिएनन् । कतिले त धान फलाउने जमिनमा सुन्तला रोपेर खेती विगार्ने भयो भनेर भन्थे । तर तामाङ आफ्नो सपना साकार गर्नको लागि पछि हटेनन् । हार मानेनन् उनले । विभिन्न कृषि विज्ञहरुसँग सल्लाह लिए । अन्य किसानहरुको अनुभब सुने र निरन्तर मेहनत गर्दै गए । करीब ४ बर्षको अथक प्रयासपछि अहिले उनको सुन्तला बगैचाले राम्रो उत्पादन दिने भएको छ । साहिला तामाङका अनुसार अबको एक बर्षमा सुन्तलाखेतिबाट ८० प्रतिशत सम्म आम्दानी गर्ने लक्ष्य राखेका छन् । सुन्तला बगैचामा फलेका फलहरुको बजार राम्रोसँग व्यवस्थापन गर्न सकियमा यो लक्ष्य हासिल गर्न सकिने उनको विश्वास छ ।
सुन्तला खेतीलाई अझ व्यवस्थित र आधुनिक बनाउन तामाङ गाउँपालिकाको सहयोगकको अपेक्षा गर्छन । विशेष गरी बजारको व्यवस्थापन, जैविक मल, किटनासक औषधी र भण्डारण सुविधाको व्यवस्था भएमा व्यवसाय अझ सरल हुने उनको भनाई छ । उनी भन्छन्–हाम्रो सुन्तलाले बजार लिने समय नजिकिदै छ । गाउँपालिका र सम्बन्धित निकायले बजार व्यवस्थापनमा सहयोग गरेमा अझ राम्रो हुने थियो । गाउँपालिकाले किसानहरुलाई विभिन्न कृषिजन्य तालिमहरु संचालन गर्ने, किसानहरुलाई प्रोत्साहन दिन सकेमा व्यवसाय अझ अगाडी बढ्न सक्ने सम्भावना छ ।

साहिला तामाङको मेहेनतले गाउँका अन्य युवाहरुलाई पनि प्रेरित गरेको छ । बैदेशिक रोजगारी नै एक मात्र विकल्प नभएको उनी प्रमाणित गर्न सफल भएका छन् । उनको मेहेनत प्रशंसनिय रहेको बताउछन् गाउँका अर्का कृषि व्यवसायि प्रेम बहादुर लामा । प्रेम बहादुर तामाङले पनि ३ रोपनिमा सुन्तला खेति गरेका छन् । त्यस्तै गाउँका अर्का कृषि व्यवसायि रुद्रप्रसाद अधिकारीले पनि सुन्तला, कागती, निबुवा, अम्बा, तेजपत्ता तथा अम्रिसो कुचो लगायका छन् । साँहिला दाईको संघर्षप्रति प्रेरित छन् स्थानीयहरु पनि ।
परदेशमा विताएका बर्षहरुको अनुभव तथा परिवार र स्थानीयहरुबाट पाएको माया तथा हौसलाले उनलाई अझ मेहनत, लगनशिल र आत्मनिर्भर बन्न सिकायको छ ।

उनको संघर्षले सिन्धुपाल्चोक मात्र नभएर अन्य जिल्लाका युवाहरुलाई पनि कृषि क्षेत्रमा लाग्न प्रेरित गर्नेछ । उनि भन्छन–विदेश जानु अघि एकपटक आफ्नै भूमिमा केही गर्न सकिन्छ भनेर सोच्नुपर्छ, यहाँ सम्भावना धेरै छन् बस् हिम्मत हार्नुहुँदैन ।




