रसुवा । रसुवामा आएको भीषण बाढीले जनजीवनमा ठुलो क्षति पुर्याएको छ। गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा मित्रराष्ट्र चीनतर्फको क्षेत्रमा परेको अविरल वर्षाका कारण नदीमा आएको बाढीले नेपाल–चीन जोड्ने मुख्य नाका मितेरी पुल पूर्णरूपमा बगाएको छ। पुल बगेसँगै मानिस र सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ।
बाढीले इभी चार्जिङ स्टेशनमा पनि क्षति पुर्याएको छ भने झन्डै ७ देखि ८ वटा विद्युतीय गाडी बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। त्यस्तै, रसुवागढी हाइड्रोपावरमा पनि बाढीले व्यापक क्षति पुर्याएको जनाइएको छ।

प्रहरी स्रोतका अनुसार हालसम्म एकजना नेपाल प्रहरी, एकजना सशस्त्र प्रहरी र सात जना स्थानीय गरी ९ जनालाई सकुशल उद्धार गरिएको छ। ३ जना सुरक्षा निकायका सदस्य, ९ जना नेपाली नागरिक र ६ जना चिनियाँ नागरिक गरी जम्मा १८ जना अझै बेपत्ता छन्।
यसका साथै, गोसाइकुण्ड गाउँपालिका–५ अन्तर्गत पर्ने पासाङ ल्हामु राजमार्गको धुन्चे–टिमुरे खण्ड बाढीका कारण चर्किएर सडक पूर्ण रूपमा अबरुद्ध भएको छ। उक्त क्षेत्रबाट हुने सामान ढुवानी र पर्यटन आवागमनसमेत ठप्प भएको छ।
प्रहरी तथा सुरक्षाकर्मीहरू उद्धारमा खटिरहेका छन् भने मौसम अनुकूल भएसँगै खोजी र उद्धार कार्यलाई थप तीव्रता दिइने जनाइएको छ।
विहान १० बजेसम्मको जानकारी




