काठमाडौँ । काठमाडौंको चन्द्रगिरी नगरपालिका–२ र धादिङ जिल्लाको धुनीबेशी नगरपालिका–९ को सीमानामा पर्ने झ्याप्लेखोलामा पहिरोले पुरिएको हालसम्म ३५ जनाको शव फेला परेको छ ।
असोज ११ गते शुक्रबार बिहान बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर जिप र चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख १३४५ नम्बरको हायस पहिरोमा पुरिएको थियो भने गोरखाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस पहिरोमा परेको थियो । यसैगरी बा १ प १३८८ नम्बरको बससमेत क्षति पुगेको थियो ।
पहिरोमा पुरिएको विंगर जिपमा सवार ८ जना पुरुष, ५ जना महिला र एक जना बच्चा गरी १४ जना, हायसमा सवार १२ जना पुरुष र ४ जना महिला तथा बसमा सवार ५ जना पुरुष यात्रुहरु पहिरोमा पुरिएका थिए ।
पहिरोमा पुरिएकाहरुको सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले खोजी तथा उद्धार कार्य गरिरहेको छ । उद्धार कार्यमा सशस्त्र प्रहरी बल, नेपाल नं. १८ निलबराहि गण काठमाडौंबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटिएको टोलीले तीन वटा जेसीबीको सहायताले पहिरो पन्छ्याई खोजी तथा उद्धार कार्य गरिरहेका छ ।





