काठमाडौँ । लगातार तीन दिनसम्मको बर्षाको कारण बिभिन्न ठाउँहरुमा बाढी पहिरो जाँदा सडक तथा पूलको क्षेत्रमा मात्रै २५ अर्ब रुपैयाँ हाराहारीको क्षति भएको सरकारले जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर प्रारम्भिक अनुमान अनुसार क्षतिग्रस्त सम्पूर्ण संरचना स्थायीरूपमा पुनर्निर्माण गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

बाढी पहिरोले ३४ वटा राजमार्गका ८ सय ५ ठाउँमा सडक अवरुद्ध भएकोमा ७ सय ७४ ठाउँको पहिरो हटाएर गाडी चलाउन थालिएको पनि मन्त्रालयले जनाएको छ । बीपी राजमार्गको सिन्धुली खण्ड र अरनिको राजमार्गको तातोपानी पुग्ने सडकमा गाडी चल्नेगरी मर्मत गर्नसमेत समस्या भएको मन्त्री देवेन्द्र दाहालले बताउनुभएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले ५ वटा मुख्य राजमार्गका ३१ ठाउँमा अझै अवरुद्ध रहेको बताए।
बीपी राजमार्गमा भने १२ किलोमिटर सडक पूर्णरूपमा बगेकाले सबै विकल्प अपनाएर सकभर चाँडोभन्दा चाँडो निर्माण थालिने भए पनि दशैँअघि बीपी राजमार्ग सञ्चालनको सम्भावना नरहेको शर्माले बताएका छन् ।
भोलि वा पर्सिसम्म कान्ति राजपथ र दक्षिणकाली–छैमले सडक खुलाउने तयारी छ । यस्तै काठमाण्डाैबाट नौबिसे हुँदै हेटौँडा र थानकोट–चित्लाङ हुँदै साना गाडीलाई हेटौँडासम्म जाने छोटो बाटो मर्मत गरेर चाँडै सञ्चालन गर्ने कोशिश भइरहेको सचिव शर्माले बताउनुभयो ।
अहिले काठमाण्डौ–मुग्लिन, मुग्लिन–पोखरा, नारायणगढ–बुटवल लगायतका सडकमा भने दुईतर्फी नै गाडी चलिरहेका छन् ।




