विराटनगर । दुषित हावा, दुषित पानी, (भ्रष्ट, असभ्य अनि लोभी समाज), फोहोर सडक र अल्छी जनता नेपालको प्रमुख विशेषता हो ।
विराटनगरका एक हुने खाने धनाड्य व्यक्तिको महगो कारमा चढेको थिए । कार भित्र रेडियोमा गोकुल बास्कोटाको ७० करोड वाला अडियो रेकर्डको समचार आयो । त्यसपछि ती धनाड्य व्यक्तिले गोजीबाट महगो खाले गुट्खा निकालेर खाए अनि त्यसको खोललाई बाहिर सडकमा फ्याँकिदिए र चपाउदै भने,’ साल* नेताहरुले यो देश बिगारीसके ।’एक छिन पछि गाडी रोकेर र झ्यालबाट टाउको निकालेर गुट्खा थुके र चिया पसलमा गएर साथीसँग कुरा गर्न थाले,’यो देश बस्न लायक भएन ।’

यो मेरो जीवनमा घटेको एउटा घटनाको सानो अंश मात्र हो । के साच्चै नेता खराव भएरै देश बिग्रिएको हो? नेताले नै देशलाई यो अवस्थामा ल्याइ पुर्याएका हुन त? साच्चै देश बस्न लायक छैन्? देशको यो हालत हुनुमा हाम्रो भूमिकाको मुल्यांकन कसले गर्छ ? आजको यस लेखमा यिनै प्रश्नको उत्तरको खोजी हुनेछ।
नेपालमा वडा, प्रदेश र संघ राष्ट्रिय सभा मिलाएर जम्मा ३७ हजार जनप्रतिनिधिको सङ्ख्या रहेको छ । ५०/६० लाख युवा बिदेशमा छन । २ करोड ४० लाख जति नेपालीहरु नेपालमै बस्छन्। जाबो ३७ हजार नेताले देश बिगारी रहदापनि हेरेर बस्ने हामी कस्तो नेपाली । हाम्रो नशामा त विर गोर्खालीको रगत बगेको छ, जसले कहिल्यै हार्न जानेन । हाम्रो सारा इतिहास नै विरताको रगतले कोरिएको छ।
यो देश कतै हामी नेपाली जनताले नै त बिगारेको हैनौ ? यसको बारेमा पनि तथ्यलाई हेरौँ ।
नेतापनि यही नेपाली समाज बाट चुनावमा उठेर जनताले भोट दिए पछि नेता भएको न हो । नेताहरु पनि नेपाली नै हुन। त्यसैले यो देश बिग्रनुमा ३७ हजार नेताको मात्रै हात त पक्कै छैन । हाम्रो पनि भूमिका उत्तिकै छ ।
कुरा गरौ चुनावको/नेता छान्ने प्रक्रियाको
नेपालमा २०७२ को सविधान जारी भएपछि प्रत्येक ५/५ बर्षमा चुनाव हुन्छ । को नेता कस्तो छ ? भनेर जान्नको लागि हाम्रो नेताले चुनाव जितेको ६ महिना देखि १ बर्षमा नै थाहाँ हुन्छ । तर हामीले नयाँलाई भोट दिएर जिताउनको सट्टा पञ्चायत देखि सत्तामा बसेका करोडौ अरबौ रुपैयाको भष्टाचार गरेका, हत्या आरोपमा मुद्दा लागेका, सरकारी जग्गा आफ्नो नाममा पार्ने, कोरोना जस्तो माहामारीको बेला स्वास्थ्य सामाग्री आयात गर्दा कमिसन खाने र देशको नदीनाला चिया बगान बेच्नेलाई भोट दिएर संघ प्रदेश र वडामा दुइ/दुइ पटक पठाएका छौ । यसै सन्दर्भमा एउटा कहानी याद आयो । कुनै ठाउँमा गधालाई गाँउका सबै मानिस मिलेर घरको छानामा लगेछन । त्यसपछि त्यो गधाले घरको छाना लाई लात्तीले हानेर भत्काउन थाल्यो । अब भन्नुस घरको छानो भत्काउने गधाको गल्ती कि त्यो गधालाई घरको छानोसम्म पुर्याउने गाँउलेको गल्ती।
चुनावको बेला मस्त मासु, रक्सी, पैसा, नातावाद, कृपावादमा लागेर असक्षम भइसकेका व्यक्तिलाई भोट दिए पछि देश जादैन त खाडलमा ।
एक जना वडा अध्यक्षको पदमा वि.स. २०७९ को चुनाव उठेका उम्मेदवारले नाम नखुलाउने सर्तमा भनेका छन, चुनावमा ती वडा अध्यक्षको ७ लाख रुपैया भन्दा धेरै खर्च भएको रहेछ। एक जना गाउँपालिकाको वडा अध्यक्षको उम्मेदवारले ६/७ लाख खर्च गर्छन भने सोचौ त मेयर सांसद पदमा उठेका उम्मेदवारले कति खर्च गर्छन होला। त्यो खर्च उठाउन चुनाव जितेपछि कति भष्टाचार गर्छन होला ।
नेता को हो ?
नेता भनेको समाजको ऐना हो । समाज जस्तो छ नेता त्यस्तै हुन्छ । नेताले समाज बनाउने हैन समाजले नेता बनाउने हो । त्यसैले नेता खराव छ भन्नुको अर्थ नेता आएको समाजनै गलत छ भन्ने अर्थ लाग्छ।
झोले प्रवृत्ति
नेपालका धेरै जनता पार्टीमा आस्था राख्दछन्। तर समस्या यसमा छैन । समस्या त यहाँ छ कि पार्टीका शिर्ष नेताले जे भन्यो त्यही मान्ने परम्परा छ । पाटीका शिर्ष नेताले ३+३= ४ हो भन्दा हो भन्दै कुर्लिन्छौ । यो गलत हो भनेर प्रश्न उठाउन पनि सक्दैनौ र प्रश्न उठाउने कोही जन्मियो भने उसलाई प्रश्न उठाउने अवस्थामा पनि छोड्दैनौ ।
नेपालीको दुश्मन भाग्यवाद
हामी नेपालीले बच्चै देखि सुन्दै आएको ‘भाग्यमा छ भने हुन्छ ।’ त्यसैले हामीले मेहेनत गर्नमा विश्वास गर्न छाडिदियौ।
भाग्यवादमाथिको यस्तो गहिरो विश्वासले मिहिनेत गरी खाने संस्कार र केही हासिल गर्ने उत्प्रेरणाको भावनालाई नष्ट पारिदिएको छ । धेरै गरिब नेपालीहरु आफ्नो निराशा, असफलता तथा दुःखदर्दमा धारे हातलाई खुकुरी जस्तै निधारमा हिर्काएर सराप्ने गर्छन् । उनीहरु ‘लेखेको मात्र पाइन्छ, देखेको पाइँदैन’ भन्नेमा अझै विश्वास गर्छन् । यसप्रकार मानिसहरुलाई विश्वको मुख्य सञ्चालक कुनै शक्तिशाली बाह्य शक्ति हो भनी स्वीकार्न लगाइएको छ। भाग्यवादले कुनै समस्याको उद्देश्यमूलक समाधान खोज्ने र लक्ष्यप्राप्तिलाई आफ्नो अभीष्ट बनाउने काममा ठूलो असर पार्दछ। महत्त्वपूर्ण ठाउँमा साथीभाइ, नातेदार र ‘आफ्नो मान्छे’ हुनु जरुरी मानिन्छ जसले गर्दा गैरजिम्मेवार व्यवहार गरे पनि सजायबाट उम्कन सकिन्छ। अहिले पनि चाकरी प्रथा यहाँको सामाजिक जीवनको अभिन्न अङ्ग भएर रहेको छ र सरकारको हरेक तहमा चाकरी प्रथा रहेको प्रष्ट देखिन्छ। चाकरीकै दबाबमा परेर निर्णय लिइन्छ र नियुक्ति गरिन्छ । कुनै विषय वा व्यक्तिको निष्पक्ष र वस्तुनिष्ठ मूल्याङ्कनका आधारमा होइन ।
– डोर बहादुर बिष्ट
हामी जनता कतिको इमान्दार छौ?
नेपालमा अपवाद बाहेक भष्टाचार २ वटा कारणले हुदैन।
१) गर्न नपाएर
२) इज्जतको डर
नत्र भए तरकारी पसल, सडक सफा गर्ने मान्छे देखि मन्त्री प्रधानमन्त्रीको तह सम्म भष्टाचार हुन्छ ।
जसले आफुले आफुलाई चोखो ठान्दछन् उनीहरुले नपाएर वा डराएर मात्र नगरेका हुन्। अपवाद वाहेक भष्टाचार नेपालीहरुको रगतमा छ । जागिर खानेबेला सोर्सफोर्स, नागरिकता बनाउँदा सोर्सफोर्स, बिद्यालयमा भर्ना गर्दा सोर्सफोर्स, हस्पिटलमा भर्ना हुदाँ सोर्सफोर्स हरेक काममा नातावाद र कृपावादको जालो छ नेपालमा । त्यो पनि अरू कोही बाहिरी शक्ति आएर भएको होइन, हामी आफैले यो अवस्था सृजना गरेको हो । अरु देशमा भष्टाचार गर्यो भने बाच्न मुस्किल पर्छ। तर नेपाल गरेन भने बाच्न गाह्रो पर्छ।
भ्रष्टाचारविरुद्ध क्रियाशील ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकांक २०२३’ प्रतिवेदनअनुसार नेपाल अति भ्रष्टाचार हुने मुलुकको सूचीमा छ । १८० देशमा गरिएको सर्वेक्षणमा नेपाल कम भ्रष्टाचार र सुशासनको सूचीमा १०८ औं स्थानमा परेको छ ।
हामी अधिकांश नेपालीलाई देश सफा गर्ने कुरा त परै जाओस फोहोर सही तरिकाले व्यवस्थापन गर्न समेत आउदैन् । २/४ सय रुपैया खर्च गरेर फोहोर नगरपालिकाको फोहोर व्यावस्थापन गर्ने गाडीमा हाल्नुको सट्टा सडकपेटी,नहर र अर्काको खाली जग्गामा फ्याक्छौँ ।

हामी नेपाली सार्वजनिक ट्वाइलेटमा गलत पानी हाल्न समेत सक्दैनौ ।
सार्वजनिक ठाउँहरु हस्पिटल, बिद्यालय, कलेज, सरकारी भवनको भित्ता गुट्खाको रङले लतपतिएको हुन्छ ।
नेपालको घुम्न लायकको सुन्दर ठाउँहरुमा रक्सी, बियरको बोतल र प्लास्टिक बाहेक अरु केही भेटिदैन। त्यस्ता ठाउँहरुलाई पार्टी गर्ने ठाउँ बनाइन्छ।
हाम्रो अल्छी प्रवृत्ति
हामी अधिकांश नेपालीहरुको बानी परिवारमा एक दुइ जनाले कमाउने बाँकी सबैले बसेर खानी छ । मेहेनत र संघर्षलाई सम्मान ज्यादै न्युन छ । हामीलाई छोटो समयमा ठुलो सफलता चाहिन्छ। तर वास्तवमा सफलताले
मेहेनत, परिश्रम, सहनशीलता र धैर्यता माग्छ ।
शिक्षाप्रतिको सम्मान
हाम्रो देशको इतिहास यस्तो छ कि खुट्टाले किताब कपीमा लाग्दा समेत पाप लाग्छ भनेर ढोग्ने देश हो । ज्ञानको सम्मान त्यो स्तरसम्म थियो । हामीले गुरुलाई भगवान भन्दा माथिको दर्जा दिएका थियौ । तर आजको दिनमा शिक्षा जागिरको माध्यम मात्र बनेको छ । परीक्षा सकिएको दिन किताब चटपटे बनाउने वालालाई दिन्छौ । यदि पढेलेखेर जागिर पाउदैनौ भनेर कानुन पारित भयो भने नेपालामा ९९.९९ प्रतिशतले पढ्न छाडिदिन्छौ। हामी ज्ञान होइन नम्बरसँग मतलब राख्छौ । यसको ज्वलन्त उदाहरण हो, परीक्षा सकिएपछि हम्रो पुस्तक, नोट कपी फ्याकिदिन्छौ।
रोजगारीको अवस्थामा
धेरै ज्ञानका कुरा नगरौं जुन देश शिक्षामा यति धेरै पिछडिएको छ, यस्तो देशमा जनशक्ति कस्तो उत्पादन होला । न कम्प्युटरको ज्ञान छ, न आफुले पढेको बिषयको बिषयगत ज्ञान छ । बस हातमा डिग्रीवाला सर्टिफिकेट बाहेक अरु केही छैन। कम्पनीहरुले काम गर्ने मान्छे खोजी रहेका हुन्छन् तर पनि लायकको मान्छे भेटिदैन भनेर गुनासो गर्छन । हाम्रो हालत यस्तो छ ।
चेतनाको स्तर
हामी नेपाली अझै भ्रममा छौ कि बली दिदाँ भगवान खुशी भएर मनोकामना पुरा गरिदिन्छन्। एउटा निर्दोष प्राणीलाई मारेर कसरी भगवान खुशी हुन्छन अझै थाहा छैन। महिला महिनावारी हुनु भनेको अझै पाप नै मान्छौ । हामी तर यो एउटा सामान्य प्रक्रिया मात्र हो भनेर कहिल्यै बुझेनौ । अझै पनि हाम्रो समाजमा महिलाहरु नपढेपनि हुन्छ बुढाले पाली हाल्छ नि भन्ने मान्यताले ग्रसित छौँ । शिक्षा आए पछि समाजका कुरीति हट्छ भनेर पढ्यौ तर मधेशमा एउटा डाक्टरले बिहे गर्दा कार र ५० लाख भन्दा धरै दाइजो लिदा रहेछन । यो मधेश तिरको फिक्स रेट रहेछ । जति पढ्यो त्यति धेरै दाइजो दिनु पर्ने । जातिय छुवाछुत त हाम्रो रगतमै छ । कहिले यसको अन्त्य हुन्छ स्वयं भगवानलाई पनि थाहाँ छैन होला ।
खेलप्रतिको दृष्टिकोण
नेपाली आमाबुबाहरुको अनुसार खेल खेल्नु भनेको समय बर्बाद गर्नु हो । हाम्रो चेतनाको मानसपटलमा अझै यो कुरा छिर्न सकेन कि खेल हाम्रो मानव जीवनको एक हिस्सा हो । पुरुषहरु जसोतसो खेली रहेको हुन्छन तर महिलाहरुले आफ्नो पढाइसँगै खेल क्षेत्रलाई समेत बिदाइ गरी दिन्छन । त्यसैले आजको दिनमा बिश्वमा नेपालको खेलको स्तर एकदमै तल्लो स्थानमा गिरेको छ । पारा ओलम्पिकमा बाहेक ओलम्पिकमा एउटा पनि मेडल हामीले जित्न सकेका छैनौँ ।
जिम्मेवारी बहन
हामी नेपाली धेरै चलाख छौ । आफ्नो जिम्मेवारी वहन गर्नै चाहदैनौ गल्ती जति सबै नेता को टाउको थुपारेर पानी माथिको ओभानो बन्न खोजी रहेका छौ । वास्तवमा देशको दुर्दशा हुनुमा ९९ दशमलव ९९ प्रतिशत हात हामी छ । भाग्यमा बिश्वास गर्नु, गलत नेतालाई छान्नु, अशिक्षित नै बनी रहनु, हाम्रो आफ्नो मान्यतालाई चुनौती दिन नसक्नु, शिक्षाको अपमान गर्नु, बिज्ञानलाई अभिषाप ठान्नु, गलत संस्कार संस्कृति अपनाउनु नै देश र जनताको दुर्भाग्यको कारण हो ।
यदि देश बनाउँने नै हो भने हामी नेपालीले आफ्नो जिम्मेवारी बहन गर्न सक्नुपर्छ । त्यसको लागि एउटै माध्यम छ । सही धर्मलाई अपनाउनु । भागवत गीता, वौद्ध दर्शन, अष्टावक्र र वेदान्त जस्ता दर्शनबाट हरेक नेपालीले ज्ञान लिनु पर्छ । विज्ञानको खोज अनुसन्धानलाई सम्मान दिन सिक्नु पर्छ। विद्यार्थीको नम्बरलाई होइन ज्ञानलाई महत्व दिन सिक्नुपर्छ।




