विराटनगर । गाई नेपालको राष्ट्रिय जनावर हो । हिन्दु धर्ममा भगवानसँगै आमा समान मानेर पुजिने गाई एक समय पछि सडकमा अलपत्र पारेर छाडिदिने क्रम बढ्न थालेको छ ।
गाईले दुध दिन छाडेपछि किसानको लागि गाई खर्च (दायित्व) को रुपमा आउने भएकोले कित गाई खरितेलाई बेच्नु पर्ने वा सडकमा अलपत्र छाड्नु बाहेक अन्य बिकल्प नरहेको गाईपालक किसानहरुले बताउने गरेका छन ।

अधिकांश हिन्दु समुदायले नै थारा ( बुढी वा दुध दिन नसक्ने वा नब्याउने) गाई सस्तो मुल्यमा खरितेलाई काटिखान बेच्ने गरेको एक खरितेले (गाई बस्तु किनबेच गर्ने मान्छे) नाम नखुलाउने सर्तमा एभरेस्ट पोललाई भनेका छन् । थारा गाइहरु काट्नको लागि बंगलादेश लगिने समेत उनले बताएका छन। त्यस्ता गाइहरु बेच्ने र किन्ने अधिकांश हिन्दु नै रहेको पाइएको छ।
नेपालमा कतै गाई काटिएमा हिन्दु अगुवाहरुले आन्दोलन गरेपनि गाइ काट्नको लागि बिदेश लैजादा र सडकमा अलपत्र छाड्दा भने यस बिषयमा हिन्दू संगठन मौन रहेको पाइएको छ।
बिश्व हिन्दु परिषद मोरङका प्रतिनिधि रमेश चापागाईंले पनि हिन्दुहरुले नै दुध दिन छाडे पछि गाईलाई सडकमा छाडिदिने गरेको बताउनु भएको छ। आफुहरुसँग प्रयाप्त स्रोत नहुँदा सडकमा अलपत्र पारीएको गाईलाई सही ठाउँमा व्यवस्थापन गर्न कठिनाइ भएको उहाँको भनाइ छ । देशभरका स्थानिय पालिकाको सहयोग लिएर गौशाला बनाउन कोशिस गरेर पनि पर्याप्त नभएको चापागाईंले बताउनु भयो।
हिन्दु समाजमा गाईको छुट्टै महत्व रहेको ज्योतिष केशव गौतमले ज्योतिष साथी युटुब च्यानल मार्फत बताउनु भएको छ । उहाँ भन्नुहुन्छ, ‘शिव भगवानको प्रिय वेल पत्र गाईको गोबरबाट उत्पति भएको र चार वेदमा पनि गाईलाई महत्वपूर्ण स्थान दिएको छ।’ साथै गाईमा ३३ कोटी देवी-देवताको वास हुन्छ भन्ने मान्यता रहेको पनि गौतमले बताउनुभयो।
हिन्दु समाजमा मानिस जन्मे देखि मरणोपरान्तसम्मका बिभिन्न रीतिरिवाज काममा गाइको बिशेष महत्व छ ।
गाईलाई देखावटी रुपमा लक्ष्मी, भगवान र माता मानेर पुजे पनि व्यवहारिक रुपमा हिन्दु समाजमा पछिल्लो दिनहरुमा दुध दिन छाडेपछि गाईलाई सडक किनारामा अलपत्र पार्ने घटना बढ्न थालेको छ ।




