हेटौंडा । कति जना भोली बिहानको उज्यालोसँगै सुन्दर काठमाडौँ हेर्ने सपना बोकेर हिडेका थिए त कति जना दशैँमा परिवार भेट्न काठमाडौंबाट घर तर्फ फर्किदै थिए । तर झ्याप्लेखोलामा ३५ जनाको सपना सदाको सपनै रहयो भने हामी नेपालीको लागि सधै झकझक्याइ राख्ने कालो इतिहासमा परिणत भयो असोज १२ गते ।

दुइ दिनको अविरल घनघोर वर्षापछि गएको बाढीपहिरोको डरलाग्दो प्रतिविम्ब बनेको छ, झ्याप्लेखोला । नागढुङ्गा- नौबिसे सडकखण्ड अन्तर्गत काठमाडौँ र धादिङको सिमाना रहेको झ्याप्लेखोलामा गएको पहिरोमा ३५ जनाको मृत्यु पुष्टि भएको हो ।

चितवनबाट काठमाडौँ आउँदै गरेको बा २ ख १३४५ नम्बरको माइक्रोबस, गोरखाको लापुबेँसीबाट काठमाडौँ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बस, बुटवलबाट काठमाडौँ आउँदै गरेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस यात्रुसहित पहिरोमा पुरिएका थियो । धादिङ प्रहरीका अनुसार आंशिक पुरिएका पर्यटक बसबाट भने घटनाकै बेला यात्रु भागेर बच्न सफल भएका थिए ।
शनिबार बिहान करिब ४ बजेको हुँदो हो । झमझम पानी पर्दै थियो । काठमाडौँ–धादिङ सिमानाको झ्याप्ले खोला हुँदै माथिबाट गल्र्यामगुर्लुम पहिरो खस्यो । पहिरो झरेको छेउमै पसल चलाइरहनुभएकी नानु लामाले पहिले त के भो भनेर केही सोच्नै सक्नुभएन । अन्धकारमा ‘बचाउ बचाउ’ भन्दै मानिस चिच्याउन थालेपछि गाडीका बत्ती र टर्चको उज्यालोमा पहिरो गएको देखियो ।
उहाँले भन्नुभयो, “नजिकै रहेको माइक्रोका यात्रुको चिच्याहट पछ्याउँदै अगाडिका यात्रु र हामी मिलेर रगताम्य यात्रु निकाल्यौँ ।” त्यसपछि माथि नागढुङ्गामा रहेका प्रहरीलाई खबर गरेको उहाँले बताउनुभयो । त्योभन्दा तल पसलकै छेउबाट लेदोसहितको भेलपहिरो बग्दै थियो । सडकबाट तल बगाएका बसका यात्रुको चिच्याहटले खोँचमा कोलाहल नै मच्चियो । नानुले भन्नुभयो, “गुहार गुहार…बचाउ बचाउ भन्दै थिए, हामी कसरी जानु त्यो अँध्यारो र भेलमा ?” वरपरका पनि ज्यान बचाउन कोही गाडीबाट उत्रेर सडकैसडक लड्दै उकालो कुदे । कोही रुनकराउन थाले ।
बाटाभरि झरेको पहिरो छल्दै आधा घण्टापछि दुई जना प्रहरी टर्च बोकेर नागढुङ्गाबाट आइपुगे । उनीहरूसँग बचाउन जाने कुनै स्रोत साधन थिएन । त्यसैले लिएर आउँछौँ भनेर फर्किए । बिहान उज्यालो भएपछि मात्र उद्धार टोली आइपुग्यो ।
घटना हुनुअघि शुक्रबार मध्यरातमा नै अलिक माथिबाट सडकमा रुखसहितको पहिरो झरेर बाटो बन्द भएको थियो । त्यही कारण प्रहरीले नागढुङ्गातर्फ सवारी नलैजान र झ्याप्लेखोला आसपास नै रहन भन्ने खबर पठाएको थियो । जस कारण नागढुङ्गाको तल घुमाउनेदेखि नै सवारी जाम भएको थियो । जाम परेकाले माथि घर नगई नानु लामासहितका पसले त्यहीँ बसेका थिए । उहाँले सम्झनुभयो, “यात्रुले खानेकुरा मागेपछि चाउचाउ, बिस्कुट, पानी, जुस बेचिरहेका थियौँ । कोही गाडीबाट ओर्लेर सडकमै सुस्ताउँदै बाटो खुल्ने प्रतीक्षामा थिए । कोही गाडीमै निदाइरहेका थिए ।” त्यसरी बगाएका गाडीमा झ्याप्ले खोलाको पानी सडकबाट तल खोँच जाने ठाउँमै रोकिएको र बढी पसेको उहाँले बताउनुभयो । बिजुलीसमेत नभएकाले पनि जिउँदाले उद्धारको मेसो पाउन नसकेको उहाँले बताउनुभयो ।
झ्याप्लेखोलाको पहिरोमा परेर १८ वर्षीय वसन्तकुमार साहको मृत्यु भयो।
आर्थिक रूपमा विपन्न साह परिवारको सहारा र भरोसा दुवै थिए वसन्त। त्यही दिनबाट यो परिवारले सधैका लागि छोरा मात्रै गुमाएन परिवारका लागि सुख खोज्ने सपना बुनिरहेको सहारा पनि गुमायो। घरको जेठोबाठो छोरा वसन्त पढाइमा निकै मिहिनेती थिए।
‘परिवारको दुःख हटाउछु चिन्ता नगर्नु भनेर सधैँ मलाई सम्झाउँथ्यो,’ स्वर्गीय वसन्तका बुबा भरत साहले सेतो पाटीलाई दिएको अन्तर्वार्तामा भन्नु भएको थियो। ‘धेरै पढेर ठूलो मान्छे बन्ने, दुई जना दिदीको विवाह गर्ने र एउटा भाइलाई धेरै पढाउने उसको सपना थियो। त्यो पूरा नहुँदै अस्तायो।’
वसन्तको बुबाको झै झ्याप्लेखोलाको पहिरोले कतिको बुढेसकालको लाठी पुर्यो, कतिको सिन्दुर पुछिदियो , कसैको जिउने आधार खोसीदियो , जो कोही त्यो बाटो हिड्नेले ति ३५ जनाको चित्रकारको सुन्नेछन्, महसुुस गर्ने छन् , झ्याप्लेखोलाको पहिरोले नेपालीलाई नमेटिने घाउको दाग दिएर गयो।
यदि सरकारले मौसम पूर्वानुमान महाशाखाको सुचनालाई मध्यनजर गरेर रात्रीवस संचालन गर्न अनुमति नदिएको भए यो घटना टाल्न सकिन्थ्यो कि ।




