विराटनगर। आज नेपाली जनताका सर्वप्रिय नेता साथै लौहपुरुष उपाधिबाट सम्मानित गणेशमान सिंहको ११० औं जन्मजयन्ती हो ।
२४ बर्षकै उमेरमा राणा शासनको विरुद्ध लाग्नुभएको सिंहको नेपाली राजनीतिमा महत्वपुर्ण भुमिका रहेको छ । जुन योगदान नेपाली जनताले सायदै बिर्षने छैन।

उहाँलाई फादर अफ् डेमोक्रेसी, सर्बमान्य नेता र लौह पुरुषको उपाधीले सम्मानित गरिएको छ ।
सिंह हक्की निडर र कडा स्वभावका अनि उहाँ राणा शासक समक्ष पनि नझुक्ने सहासी साथै प्रधानमन्त्री जस्तो पद पनि त्याग्ने एक त्यागी स्वभावको नेता हुनुहुन्थ्यो।
राजनीतिक यात्रा
गणेशमान सिंहले आफ्नो राजनीतिको सुरुवात बि.स. १९९७ बाट नेपालको पहिलो पार्टी प्रजा परिषद्को सदस्य भएर सुरु गर्नु भएको थियो । पार्टीको सदस्य हुदाँ उहाँको उमेर जम्मा २४ बर्षको मात्र थियो ।
त्यसबखत जहानियाँ राणाशासनको अन्त्यका लागि सक्रिय भएर लाग्नु भएको थियो ।
बि.स. २००३ सालमा स्थापना भएको नेपाली काङ्ग्रेसको स्थापना र बिकासमा सिंहको महत्वपुर्ण भुमिका रहेको रहेको छ।
सिंहले २००७ सालको आन्दोलनको क्रान्तिका अगुवा भइ सशस्त्र संघर्षमा महत्वपुर्ण योगदान दिनु भएको थियो।
उहाँ २०१५ सालमा पहिलो निर्वाचन पछि बनेको सरकारमा बरिष्ठ मन्त्री समेत बन्नु भएको थियो ।
२०३३ सालमा बिपी कोइरालासँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर पञ्चायती व्यवस्थाका विरुद्ध सक्रिय रहनुभयो।
२०३६ सालको बिद्यार्थी आन्दोलन र जनमत संग्रहमा पनि उहाँले महत्वपुर्ण भुमिका निर्वाह गर्नु भएको थियो
बिपी कोइरालाको निधान पछि काङग्रेसको सर्वोच्च नेताको रुप रही २०४२ सालको सत्याग्रह आन्दोलनको आरम्भ गर्नु भएको थियो।
२०४६ सालको जनआन्दोलनले ३० बर्ष भन्दा लामो पञ्चायती व्यवस्था ढाल्न सफल भयो । यसको श्रेय पनि गणेशमान सिंहलाई नै जान्छ। सिंह २०४६ को जनआन्दोलनमा सर्बोच्च कमान्डर हुनुहुन्थ्यो।
जनआन्दोलन पछि तत्कालिन राजा वीरेन्द्रले सिंहलाई प्रधानमन्त्री बन्न आग्रह गर्दापनि उहाँले सो पदलाई अस्वीकार गरी समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अगाडि सारेर नेपाली राजनीतिमा त्यागको प्रस्तुत गर्नु भएको थियो।
जेल जीवन
वि.सं. १९९७ सालमा राणा विरोधी गतिविधिमा सक्रिय भएका कारण उहाँलाई सर्वश्वसहित आजीवन कारावासको सजाय तोकिएको थियो। यसरी जेल पर्नुभएका गणेशमानले ४ वर्ष त्यहीँ बिताउन भयो। अनि वि.सं. २००१ सालको असार ७ गते १२ फिट अग्लो भद्रगोल जेलको पर्खाल नाघेर भाग्न सफल हुनुभएको थियो। यस कार्यबाट गणेशमानले ‘वीर’ को प्रख्याति पाउनु भएको थियो ।
गणेशमान सिंहसँगै जेल सजाय पाएका प्रजापरिषद्का सदस्य गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमालाई गोली हानेर र रुखमा झुण्ड्याएर मृत्युदण्डको सजाय दिइयो ।
क्रान्ति गर्ने सिलसिलामा तराईका विभिन्न भागमा मोर्चाबन्दीमा लागेका बखत गणेशमानलाई २००६/७ साल तिर तराईकै ठोरीको जङ्गलबाट पक्रेर ल्याई राणा सरकारले केरकार गर्न लाग्दा न्यायाधीश हरिशमशेर राणालाई महाराजा भनेर सम्बोधन गर्नुको सट्टा त“ भन्ने शब्द प्रयोग गरेकाले १ हजार पटक वेतको लठ्ठीले हिर्काउने सजाय दिए । ६ सय पटकसम्म हिर्काउँदा गणेशमानले सहनु भयो । त्यसैबेलादेखि नै गणेशमान सिंहलाई लौहपुरुष उपनामले सम्बोधन गर्न थालिएको हो ।
गणेशमान सिंहलाई तत्कालिन पञ्चायति सरकारले २०१७ साल पुष देखि २०२५ सालसम्म सुन्दरीजल बन्दीगृहमा थुनेको थियो । उहाँले त्यहाँ ८ बर्ष बिताउनु भयो ।
वि.स. १९७२ साल कार्तिक २४ गते जन्मनु भएको गणेशमान सिंहले आफ्नो जीवन भर कुनै पनि पदको लोभ नगरीकन जनताको हकअधिकारको लागि आवज उठाउनुका साथै राणा सरकार र पञ्चायती व्यवस्था बिरुद्ध लड्नु भयो । आफ्नो भागमा आएको प्रधानमन्त्री जस्तो पद पनि सहजै अस्वीकार गरिदिनु भएर उहाँले नेपाली राजनीतिमा कुनै पदभार ग्रहण नगरी पनि जनताको सेवा गर्न सकिन्छ भन्ने शिक्षा दिनु भएको छ ।




