बलिको अर्थ आफै भित्र रहेको पशु जस्तो स्वभावलाई मार्ने हो, निर्दोष र अबोध प्राणीलाई होइन ।
भगवानको नाम दिएर अबोध, निर्दोष र निहत्था जनावरलाई जबरजस्ती काटेर पकाएर खानु भनेको हामीले मान्ने भगवान माथि नै गरिएको अपमान हो । कुनै पनि धर्म ग्रन्थहरूमा निर्दोष जनावर मारेर देवताको मूर्तिमा रगत चढाउँदा देवता खुशी हुन्छन् भनेर कही पनि लेखेको भेटिदैन्।

एउटा निर्दोष प्राणीलाई मारेर, मासु पकाएर खादा कुन चाहिँ परमसत्ताले हामीलाई आशीर्वाद दिन्छ ? बलिको गलत अर्थ लगाएर कहिलेसम्म निर्दोष प्राणीको हत्या गर्ने?
विगत २० बर्ष भन्दा लामो समयदेखि भागवत गीता, वेदान्त र बोधप्रत्युषा जस्ता धर्मग्रन्थ पढाउदै आउनुभएका आचार्य प्रशांत भन्नुहुन्छ,” बलि अर्थात पशुवृत्तिलाई मार्नु हो। कुनै जनावरलाई मार्ने कुरा होइन,आफ्नो भित्रको अहंकार र अज्ञानता मार्नु हो। हामीभित्र एउटा जंगली घोडा छ,जो दिशाहीन भएर कुद्दै छ। त्यो कहीँ पनि पुग्दैन,बस कुदिरहन्छ, यही त हो हाम्रो मन।त्यसैको बली चढाउनु पर्छ।”
अध्यात्ममा पशुबलिको कथाहरूको सन्दर्भको मर्म बुझ्नुपर्दा वास्तवमा, मानिस पनि जंगलको उपज हो। त्यसैले, उसको आदिम प्राकृतिक जनावरलाई हटाएर चेतनालाई उठाउनुपर्ने कुरा धर्मले बताएको छ, किनभने त्यही जनावरले हामीलाई जनावर जस्तै व्यवहार गराउँछ।
धर्मले प्रतीकात्मक रूपमा हामीलाई यो सिकाइरहेको छ कि भित्रको त्यो पशु, जो केवल खाने, सुत्ने र भोग गर्नेमा सीमित छ, जसले हाम्रो चेतनालाई माथि उठ्नबाट रोक्छ, त्यसलाई हामीले मार्नुपर्छ। जस्तै, चेतनाले भन्यो, “जलवायु परिवर्तन सम्बन्धी काम गर,” तर तुरुन्तै भित्रको जनावरले भन्यो, “रहन दे, जा सुत,।”
अर्थात्, हामीभित्र रहेको आदिम पशु वृत्तिको आत्मज्ञान द्वारा उसको बली दिनुपर्छ र हाम्रो चेतनालाई माथि उठाउनुपर्छ।
अब कुरा गरौ गढीमाई मेलामा हुने बलिको बारेमा
नेपालको बारा जिल्लामा स्थित गढीमाई देवी मन्दिर एक ऐतिहासिक धार्मिक स्थल हो। जहाँ प्रत्येक पाँच वर्षमा गढीमाई मेला आयोजना हुन्छ, जसमा हजारौं निर्दोष पशुहरूको बलिको नाममा काटिन्छ । यहाँ मनोकामना पुरा गर्ने उदेश्यले बलि दिएपनि धार्मिक आस्थाका नाममा गरिने यो बलि प्रथा, मानिसहरूको आस्था र विश्वासलाई सुदृढ गर्ने लक्ष्यमा नभई गहिरो अज्ञानता र अन्धविश्वासलाई प्रोत्साहन गर्नेगरेको धार्मिक विद्वानहरुले बताउँदै आएका छन्।
गढीमाईमा हुने बलीको बारेमा आचार्य प्रशांत भन्नुहुन्छ,” गढीमाईमा बलिको स्रोत जब एक सज्जनको जीवन समस्याले घेरिएको थियो। दुखी थिए तव एकदिन उनको सपनामा गढीमाई देवी आएर खुन दिनु भनिन्। अध्यात्म धेरै सुक्ष्म कुरा हो । अव यहाँ खुनको मतलव यो होइन कि हामीले काट्यौ र रगत आयो, खुनको मतलव जो मेटिन जरुरी छ , जसको विनाश हुन आवश्यक छ, त्यसको अन्त्य गर्नु नै खुन हो । बलिको मतलब हामी भित्र रहेको त्यो जनावर जसले दुनियाको शोषण गर्न र भोग्नको लागि हामी भित्र अहंकारको रुपमा बसेको छ त्यसको अन्त्य गर्नु बलि हो । यो जरुरी छ ।”
गढीमाई देवी पूजाको सिद्धान्त सिद्धान्त बुझ्न शाक्ति परम्पराको दर्शनलाई बुझ्न आवश्यक छ। देवीको अर्थ बुझ्न सकेपछि गढिमाइ देवीको महत्त्व आफैँ प्रस्ट हुन्छ। देवीसँग सम्बन्धित सम्पूर्ण कथा, दर्शन, र सिद्धान्त दुर्गा सप्तशती ग्रन्थमा पाइन्छ।
पछिल्लो समय देवी पुजा , गढीमाई मेला उपभोक्तावादी चाड बन्दै गएको छ। देवी उपासकहरुले दुर्गा सप्तशती पढेका छैनन् भने, त्यो स्वाभाविक छ कि, उनीहरूले गढीमाई मेलालाई भौतिक चटारो र मनोरञ्जनको रूपमा सीमित गर्छन्। मासु , रक्सी सेवन, किनमेल, नाचगान, र अन्य अभद्र क्रियाकलापमा समय बिताउँछन्।
गढीमाई मेला केवल बाहिरी पूजाको चाड होइन। यो आत्मसुधारको अवसर हो। देवी उपासना भनेको हाम्रो भित्री अशक्तता, अज्ञानता, र अहंकारमाथि विजय प्राप्त गर्नु हो। गढीमाई प्रतीक हुन्—हाम्रो जीवनका नौ चरणहरूमा आत्मज्ञान प्राप्त गर्न आवश्यक शक्तिको।
यो शन्देश जब हामी बाहिरी तामझाम र निर्दोष पशुको हत्यामा अल्झन्छौँ,मासु खानेमा हाम्रो स्वार्थ लुकेको हुन्छ तब हराउँछ।
गढीमाई देवीलाई गहिरो रूपमा बुझ्नका लागि देवीको दर्शन र दुर्गा सप्तशतीलाई अध्ययन गर्न जरुरी छ । यसले हामीलाई सिकाउँछ कि देवी केवल बली पूजा अर्चनाको वस्तु होइनन्, देवी जीवनलाई उच्च चेतनाको दिशामा लैजाने प्रेरणा हुन्।




