विराटनगर । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले सोमबार ११औं चुरे संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ। समितिको स्थापनाको सम्झनामा मनाइने यो दिवसले चुरे संरक्षणको महत्त्व पुनः स्मरण गराएको छ।
सरकारले २०६६ सालमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सुरु गरेपछि २०७१ साल असार २ गते समितिको गठन गरिएको थियो। समितिको पहलमा २०७४ सालमा चुरे तराई मधेश संरक्षण तथा व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार पारिएको हो। उक्त गुरुयोजनामा वातावरण संरक्षण, नदी व्यवस्थापन, कृषि प्रणाली र जैविक विविधताको समेटिएको छ।

समिति अनुसार, चुरे क्षेत्रको संरक्षण नहुनु तराई–मधेशको अस्तित्वमै खतरा हुनसक्ने देखिन्छ। राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षण दिवसका अवसरमा नवलपरासीको कावासोतीमा वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्नुभएको छ।
चुरे, हिमालय पर्वत शृङ्खलाको सबैभन्दा दक्षिणी तथा भूगर्भीय रूपमा कमजोर भाग हो। झन्डै चार करोड वर्ष पुरानो इतिहास बोकेको चुरे इलामदेखि डडेलधुरा हुँदै ३६ जिल्लामा फैलिएको छ, जसले देशको करिब १३ प्रतिशत भूभाग ओगटेको छ। यसको चौडाइ १० देखि ५० किलोमिटर र लम्बाइ ८०० किलोमिटर छ।
विज्ञहरूका अनुसार, खुकुलो पत्रे चट्टानले बनेको चुरे क्षेत्रमा महाभारतबाट बग्ने नदीहरूले अत्यधिक क्षति पुर्याउने खतरा बढेको छ। यसले तराईमा बाढी, डुबान र भूमिगत जलस्रोत सुक्ने जस्ता समस्या निम्त्याइरहेको छ।
तराई–मधेश नेपालका अन्न भण्डार हुन्, र यी क्षेत्रको अस्तित्व चुरेसँग प्रत्यक्ष जोडिएको छ। चुरेले भूमिगत जल भण्डार संचित गर्नेदेखि जलवायु सन्तुलनमा समेत महत्वपूर्ण भूमिका खेल्ने विज्ञहरू बताउँछन्।
नेपालमा पाइने १,९१८ प्रजातिका वनस्पति तथा जीवमध्ये १,३०८ प्रजाति चुरे–तराई क्षेत्रमा भेटिन्छन्। तर, पछिल्ला वर्षहरूमा चुरेमा अनियन्त्रित दोहन, अवैज्ञानिक विकास गतिविधि र वन विनाशका कारण बाढी, पहिरो र भू–जल स्तरमा गिरावट देखिन थालेको छ।
सम्बन्धित निकायले चुरे संरक्षणमा दीर्घकालीन योजना र कडा कार्यान्वयन नल्याए यसले समग्र मुलुककै पर्यावरणीय सन्तुलनमा असर पार्ने विज्ञहरू चेतावनी दिन्छन्।
चुरे सकिने बित्तिकै भावर र त्यसपछि तराईको समथर भूभाग रहेको छ । अन्न भण्डारका रूपमा रहेको तराई मधेश जोगाउन चुरेको भूमिका महत्त्वपूर्ण छ । चुरेले तराईका निम्ति भूमिगत जल भण्डारको काम गरेको विज्ञहरू बताउँछन् ।
चुरेको जथाभाबी दोहन वा अव्यवस्थापनका कारण बाढी र पहिरोको जोखिम उच्च हुन्छ । जैविक विविधताको दृष्टिकोणबाट पनि चुरे उत्तिकै महत्त्वपूर्ण मानिन्छ ।
नेपालमा पाइने एक हजार नाै सय १८ प्रजातिमध्ये एक हजार तीन सय आठ प्रजाति चुरे तथा तराई मधेश क्षेत्रमा पाइन्छन् । पछिल्लो समयमा चुरेमा दोहन बढ्दै जाँदा त्यहाँ पहिरो र तराईमा बाढी तथा डुबानसँगै भूमिगत जलसतह घट्दै गएको विज्ञहरू बताउँछन् ।




