भारतका प्रख्यात आध्यात्मिक गुरु, दार्शनिक, लेखक तथा अद्वैत वेदान्तका शिक्षक आचार्य प्रशान्तले जनतालाई जागरुक नबनाई गरिएको व्यवस्था परिवर्तन सफल नहुने स्पष्ट गर्नुभएको छ।
उहाँका अनुसार देश र समाजमा परिवर्तन ल्याउन, चाहे जस्तोसुकै कानुन वा शासन प्रणाली लागू गरिए पनि यदि जनताको चेतनास्तर उकासिएको छैन भने ती प्रयासहरू निष्फल हुनेछन्। “जनतालाई जागरुक नबनाई परिवर्तनको प्रयास गर्नु मूर्खता हो,” आचार्य प्रशान्तले भन्नुभयो, “जब जनतामा चेतना आउँछ, तब नेता, कर्मचारी र सम्पूर्ण समाजमा सकारात्मक परिवर्तनको लहर चल्न थाल्छ।”

उहाँले उदाहरण दिँदै भन्नुभयो कि लोकतन्त्र जस्तो उत्कृष्ट भनिने व्यवस्था पनि जनता जागरुक नहुँदा असफल भएको थुप्रै उदाहरण हामीले देखिसकेका छौं। “व्यवस्था कति राम्रो छ भन्ने कुराभन्दा पनि त्यसलाई चलाउने मानिसको नियत र चेतनाले सबैभन्दा बढी फरक पार्छ,” उहाँले जोड दिनुभयो।
जनतालाई चेतनशील बनाउने माध्यमको रुपमा अध्यात्म नै सबैभन्दा प्रभावकारी रहेको उल्लेख गर्दै आचार्य प्रशान्तले आफू विगत २० वर्षदेखि यही अभियानमा समर्पित रहेको जानकारी दिनुभयो।
उहाँका अनुसार मानिसले जबसम्म आफ्नो अज्ञान र भित्री रिक्ततालाई बुझ्दैनन् तबसम्म बाहिरी भोग विलासले त्यो खालीपन कहिल्यै भरिँदैन। “प्रकृतिको सम्पूर्ण भोग गरेर पनि मानिस पूर्ण हुँदैन, किनभने समस्या बाहिरी होइन, भित्री छ,” उहाँको निष्कर्ष छ।
आचार्य प्रशान्तको विचारमा, सामाजिक रूपान्तरणको पहिलो सर्त जनचेतना हो, र त्यसको मूल आधार अध्यात्म हो।
आचार्य प्रशान्त सामाजिक सञ्जालमा अत्यन्त लोकप्रिय हुनुहुन्छ। फेसबुक, युट्युब र इन्स्टाग्रामजस्ता प्लेटफर्ममार्फत उहाँका विचार विश्वभर फैलिएका छन्। हाल उहाँलाई ७ करोडभन्दा बढीले पछ्याइरहेका छन्।
उहाँका भिडियोहरू सामाजिक, मनोवैज्ञानिक र आध्यात्मिक परिवर्तनका प्रेरणास्रोत बनेका छन्। कैयौं दर्शकहरूले उहाँका विचारहरूले जीवनमा सोच्नै नसकिने परिवर्तन ल्याएको अनुभव साझा गरेका छन्।
महिला सशक्तिकरण, युवा जागरण, शुद्ध साकाहार, पशु क्रुरता विरुद्ध र जलवायु परिवर्तनजस्ता समसामयिक विषयमा आचार्य प्रशान्त स्पष्ट र निर्भीक धारणा राख्नुहुन्छ। उहाँका विचारहरूले विशेष गरी युवामाझ चेतनाको नया तरंग ल्याइरहेको देखिन्छ।
गीता सत्रपछिको केही तस्बिरहरु





