सिन्धुपाल्चोक। तिब्बतमा लगातारको वर्षाका कारण सुनकोशी र भोटेकोशी नदी आसपासका क्षेत्रमा बाढीको सम्भावना रहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आग्रह गरेको छ।
प्रशासनले मंगलबार सार्वजनिक सूचना जारी गर्दै चीनको तिब्बतस्थित न्याल क्षेत्रमा भइरहेको अविरल वर्षाको असरले बाढी आउन सक्ने जानकारी चिनियाँ पक्षबाट प्राप्त भएको जनाएको छ। सो जानकारीका आधारमा विशेषगरी रातिको समयमा नदीको सतह बढ्ने सम्भावना रहेको जनाइएको छ।

सूचनामार्फत अरनिको राजमार्ग अन्तर्गत बन्देउदेखि लिपिङसम्मको क्षेत्रमा सवारी चलाउँदा विशेष सतर्कता अपनाउनसमेत अनुरोध गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले जोखिम न्यूनिकरणका लागि आवश्यक सतर्कता र सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।





