विराटनगर । देशका विभिन्न २२ जिल्लामा रहेका स-साना नदीहरूमा बहाव उल्लेखनीय रूपमा बढ्नुका साथै आकस्मिक बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज विशेषगरी सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, रौतहट, बारा, पर्सा, दोलखा, रसुवा, नुवाकोट, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, स्याङ्जा, बागलुङ, पर्वत, गुल्मी, प्युठान, अर्घाखाँची र रुपन्देही लगायतका जिल्लामा बग्ने साना नदीहरूको बहाव तीव्र रूपमा बढ्न सक्ने सम्भावना रहेको छ।

त्यस्तै, दार्चुला, बैतडी, डोटी, अछाम, कञ्चनपुर, कैलाली, डडेलधुरा, बाजुरा, बजाङ, सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, रोल्पा, दाङ, कपिलवस्तु, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, चितवन, गोरखा, लमजुङ, सोलुखुम्बु, संखुवासभा, रामेछाप, खोटाङ, पाँचथर र इलाम जिल्ला हुँदै बग्ने ससाना नदीहरूमा पनि बहावमा उल्लेखनीय वृद्धि भई आकस्मिक बाढीको सम्भावना मध्यम स्तरको रहेको महाशाखाले जनाएको छ।
यसका साथै नारायणी जलाधार क्षेत्र अन्तर्गतका नारायणी, त्रिशुली, बुढी गण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकी नदीमा समेत बहाव उल्लेखनीय रूपमा बढ्न सक्ने चेतावनी दिइएको छ।
महाशाखाले भोलि पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश हुँदै बग्ने केही साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेको पूर्वानुमान गरेको छ।
संबन्धित सबै जिल्लाका बासिन्दालाई सतर्क रहन र नदी तथा खोल्सामा अनावश्यक आवतजावत नगर्न बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।






