पृथ्वीमा मानव निर्मित ड्याम (जलाशय) मा पानीको मात्रा धेरै जम्मा हुँदा पृथ्वीको ध्रुव नै सर्दै गएको वैज्ञानिकहरुले खुलासा गरेका छन् ।
जलवायु परिवर्तनको कारण हिउँ पग्लदा सन २१००सम्म पृथ्वीको उत्तरी ध्रुव ९० मिटर पश्चिम तर्फ सर्ने Geophysical Research Lettersमा प्रकाशित अध्ययनले जनाएको छ।

ध्रुव सराइको बारेमा चित्रको मार्फत बुझ्नुहोस:

माथिको भाग:
पृथ्वीको उत्तर (N) र दक्षिण (S) ध्रुव सिधा रेखामा छन्।
यो अवस्था तब हुन्छ जब पृथ्वीको तौल सन्तुलनमा हुन्छ (जस्तै: ड्याम छैन, बरफ स्थिर छ)।
तलको भाग:
ड्याम बनाएपछि पृथ्वीको ध्रुव केही सरेको छ।
यहाँ उत्तर र दक्षिण ध्रुव अलिकति दक्षिण पुर्व तर्फ ढल्किएको छ।
साथै एउटा ड्यामको तस्वीर राखेर देखाइएको छ कि – ड्याम जस्तो ठूला संरचनाले पृथ्वीको तौल एकातिर धेरै पार्दा ध्रुव सर्छ।
सारांशमा:
जब पृथ्वीमा ड्याम बनाइन्छ, बरफ पग्लन्छ वा जमिनमुनिको पानी अत्यधिक निकालिन्छ, तब पृथ्वीको तौलको सन्तुलन बिग्रन्छ र ध्रुव बिस्तारै सर्न थाल्छ।
……………..
Geophysical Research Lettersमा प्रकाशित अध्ययनअनुसार, ड्यामहरूमा जम्मा भएको पानीले पृथ्वीको भूपरक (crust) र म्यान्टल (mantle) बीचको सन्तुलनमा असर पुर्याएको छ। म्यान्टल पग्लिएको जस्तो तरल प्रकृतिको हुन्छ भने क्रस्ट त्यसको माथि तैरिरहेको हुन्छ। जब जमिनको कुनै भागमा अत्यधिक भार थपिन्छ, त्यो भाग म्यान्टलमा झल्किन्छ, जसले गर्दा पृथ्वीको घुम्ने ध्रुवीय अक्ष (rotation axis) सर्छ।
भूपरक (crust) र म्यान्टल (mantle)को बारेमा जानौ:

Crust (क्रस्ट)
Crust (क्रस्ट) भनेको पृथ्वीको सबैभन्दा बाहिरी तह हो, जुन हामी मानिसहरूले टेक्ने जमिन हो। यसमा पहाड, मैदान, समुद्रको पिँध आदि सबै समावेश हुन्छन्।
क्रस्ट भनेको पृथ्वीको त्यो भाग हो जुन ठोस र कडा हुन्छ र जुनमा हामी बाँचिरहेका छौं।
* क्रस्टमा नै हावा, पानी, माटो पाइन्छ, जसले बिरुवा, जनावर र मानिसको जीवन सम्भव छ।
* हामी बस्ने घर, शहर, खेत, वन सबै क्रस्टमै छन्।
*सुन, चाँदी, तामा, फलाम, कोइला, ग्यास आदि प्राकृतिक स्रोतहरू क्रस्टभित्रै पाइन्छन्।
*टेक्टोनिक प्लेटहरूको हलचलले क्रस्टमा पहाड, समुद्र, खोँच, मैदान आदि बनाउँछ।
*यसले पृथ्वीको तातो भित्री भाग (म्यान्टल र कोर) बाट हाम्राे जीवनलाई सुरक्षित राख्छ। यदि क्रस्ट नहुने हो भने, पृथ्वीको सतह अत्यन्त तातो भएर जीवन असम्भव हुन्थ्यो।
क्रस्ट पृथ्वीको सबैभन्दा महत्वपूर्ण तह हो, जसले हामीलाई जीवन दिन्छ, प्राकृतिक स्रोतहरू प्रदान गर्छ, भू–रूपहरू बनाउँछ र पृथ्वीलाई सुरक्षित राख्छ।
त्यसैले यसको संरक्षण र वैज्ञानिक अध्ययन अत्यन्त जरुरी छ।
म्यान्टल (Mantle)
म्यान्टल (Mantle) भनेको पृथ्वीको भित्री भागको एउटा ठूलो तह हो, जुन सतह (क्रस्ट) र केन्द्र (कोर) को बीचमा हुन्छ।
* यो भाग तातो, बाक्लो र नरम वा पग्लिएको जस्तो हुन्छ, तर पूरै तरल पनि होइन र पूरै ठोस पनि होइन — ‘गुन्द्रुक जस्तो नरम’ भनेर तुलना गर्न सकिन्छ।
* म्यान्टलभित्रको चाप र तापका कारण चिसो भाग (क्रस्ट) माथि तैरिरहेको हुन्छ — यसैले क्रस्ट सर्दछ, भूकम्प आउँछ, ज्वालामुखी फुट्छ।
*पृथ्वीको सतहबाट लगभग ३० देखि २,९०० किलोमिटर गहिरो भागसम्म फैलिएको हुन्छ।
…………………….
अध्ययनमा समावेश ६ हजार ८ सय ६२ ड्यामहरूको विश्लेषण अनुसार सन् १८३५ देखि २०११ सम्म जम्मा गरिएको पानीको मात्रा यति धेरै छ कि यसले समुद्री सतहमा झण्डै ०.९ इञ्च (२३ मिलिमिटर) को गिरावट ल्याएको पनि उल्लेख गरिएको छ।
यसअघि जलवायु परिवर्तनका कारण पग्लिने हिउँ वा भूमिगत जलको अत्यधिक दोहनले पनि पृथ्वीको ध्रुव सरेको देखिएको थियो। तर, यो अध्ययन पहिलो हो जसले ड्यामको प्रभावलाई पृथ्वीको ध्रुवीय सन्तुलनमा सीधै जोडेको छ।
वैज्ञानिकहरू चेतावनी दिन्छन् — मानव गतिविधिका कारण पृथ्वीको ध्रुवहरू सर्नु वातावरणीय तथा भूगर्भीय दृष्टिले गम्भीर असर पुर्याउने खतरा बोकेको छ। त्यसैले यस्ता गतिविधिका दीर्घकालीन प्रभावबारे अझ गहिरो अध्ययन आवश्यक रहेको उनीहरूको सुझाव छ।
पृथ्वीको ध्रुव सर्दा खासै असर नपरे पनि दिर्घकालमा भने असर पर्न सक्ने वैज्ञानिकहरुले बताएका छन्।
मौसम प्रणाली र गुरुत्वाकर्षण वितरणमा प्रभाव जलवायु परिवर्तन, नक्सा, कम्पास, जिपिएस र हवाई–समुद्री यात्रा प्रणालीमा सानो तर महत्वपूर्ण असर पार्न सक्छ।




