दक्षिणपश्चिमी अमेरिकामा हाल देखिएको गम्भीर खडेरीको अवस्था सन् २१०० सम्म रहन सक्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन्। टेक्सास विश्वविद्यालय, अष्टिनका अनुसन्धानकर्ताहरूले हालको खडेरीलाई ‘मेगाड्राउट’ भनेर परिभाषित गरेका छन्, जुन विगत १२०० वर्ष यताकै सबैभन्दा भयावह रहेको उनीहरूको भनाइ छ।
उनीहरूका अनुसार तापक्रममा भइरहेको निरन्तर वृद्धिले प्यासिफिक डेकाडल ओसिलेशन (PDO) नामक जलवायु चक्रलाई गम्भीर रूपले प्रभाव पारिरहेको छ। PDO एउटा प्राकृतिक चक्र हो, जसले हरेक २०–३० वर्षमा दक्षिणपश्चिम अमेरिका लगायत विश्वका अन्य भागमा खडेरी वा भारी वर्षा ल्याउने गर्दछ। तर तापक्रम बढेपछि यो चक्र लामो समयसम्म एउटै चरणमा अडिन सक्ने देखिएको छ, जसको अर्थ—खडेरी झन् गहिरो र लम्बिन सक्छ।
शोधकर्ताहरू भिक्टोरिया टोड र टिमोथी शानाहानले अध्ययनमा पत्ता लगाए अनुसार करिब ६ हजार वर्षअघि पनि यस्तै घटना भएको थियो, जसले लामो समयसम्म नदीहरूमा पानीको मात्रा घटाएको, गर्मी बढाएको र सुख्खा परिस्थितिहरू सिर्जना गरेको थियो।

PDO मा यस्ता गहिरा परिवर्तनहरूले जाडो याम छोट्याउने, वर्षा घटाउने र सूखा अवस्थालाई थप गम्भीर बनाउने सम्भावना रहेको टोडले न्युज विकलाई बताउनु भएको छ।
कोलोराडो नदी जस्तो प्रमुख जलस्रोतको प्रवाह पछिल्ला सय वर्षमा २० प्रतिशतले घटिसकेको छ, जुन क्षेत्रीय जल संकटको स्पष्ट संकेत हो।
यस्तै, PDO को प्रभाव केवल अमेरिकामा मात्र होइन, एशियामा पनि हुने गर्दछ। दक्षिण, दक्षिणपूर्वी र पूर्वी एशियामा यसले मौसमी प्रणालीलाई प्रभावित पार्दछ। जसले वर्षा, तापक्रम, बाढी, र हिमपातमा ठूलो असर पार्न सक्छ।
विश्वव्यापी तापक्रमको चरण लामो समयसम्म रहने हो भने, यसले विश्वभर मौसमी असन्तुलन, खाद्य संकट र जल संकट निम्त्याउन सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।
स्रोत: newsweek




