हप्ताभरिका प्रमुख जलवायुजन्य घटनाहरू समेटेर तयार पारिएको टप सेभेन समाचारहरु
१) टर्कीमा ५० डिग्री तापक्रम, जनता आन्दोलित

टर्कीका विभिन्न क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियस नाघेपछि जनजीवन अस्तव्यस्त भएको छ। अत्याधिक गर्मीका कारण विशेषगरी स्थानीय बासिन्दा र व्यापारीहरू हैरान बनेका छन्। एयर कन्डिसनर (एसी) को अत्यधिक प्रयोगबाट विद्युत् खर्च उच्च भएको भन्दै उनीहरूले सरकारले बिलको राहत दिनुपर्ने माग गरेका छन्। Times of India का अनुसार टर्कीका एक व्यापारीको मात्र एसीको महिनावारी विद्युत् बिल १४५० अमेरिकी डलर अर्थात २ लाख रुपैयाँ भन्दा बढी पुगेको छ। मौसमविद्हरूका अनुसार यो अस्वाभाविक गर्मी जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव हो।
२) टर्कीको चिलो हिमनदी पग्लिँदै, पानी संकटको खतरा
टर्कीकै दक्षिणपूर्वी क्षेत्रमा अवस्थित Mount Cilo अन्तर्गतको चिलो हिमनदी तीव्र गतिमा पग्लँदै गएको Al Jazeera ले जनाएको छ। हिमनदी पग्लिनुका कारण भविष्यमा टर्कीमा खानेपानी तथा सिंचाइका लागि प्रयोग हुने जलस्रोतहरू खुकुलो हुने सम्भावना विज्ञहरूले औंल्याएका छन्। यसले देशव्यापी जल संकट निम्त्याउने खतरा रहेको बताइएको छ।
३) वर्षाका आशामा विश्व, अगस्टमा केही राहत मिल्ने सम्भावना
The Weather Channel का अनुसार अगस्ट महिनामा अधिकांश देशहरूमा सामान्यभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ। यो सिजनल वर्षाले अत्याधिक गर्मीबाट केही राहत मिल्ने अपेक्षा गरिएको छ। तथापि, अनिश्चित मौसमी प्रवृत्तिका कारण तयारी अवस्थामा रहन मौसम विज्ञहरूले सुझाव दिएका छन्।
४) फ्रान्समा तापलहरको चेतावनी, ४० डिग्री पार हुने अनुमान
अर्को हप्ता फ्रान्समा तापक्रम ४० डिग्री सेल्सियस पार गर्ने अनुमान गरिएको छ। अगस्ट ११ सम्म गर्मीको यो लहर कायम रहने सम्भावना रहेको Euronews लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। फ्रान्स सरकारले नागरिकलाई सावधानी अपनाउन र अत्यधिक गर्मीमा बाहिर जानबाट जोगिन आग्रह गरेको छ।
५) अत्यधिक गर्मीले शरीर चाँडै बुढ्याउने, नयाँ अध्ययन
सीएनएनमा प्रकाशित एक वैज्ञानिक अध्ययन अनुसार निरन्तर गर्मीमा बस्नुले मानिसको जैविक उमेर चाँडै बढ्ने देखिएको छ। तापक्रमको असर डीएनए संरचना, कोष पुनर्निर्माण प्रक्रिया र शरीरका अङ्गहरूको कार्यसम्पादनमा नकारात्मक रूपमा पर्छ। यसले गर्दा क्यान्सर, मधुमेह (सुगर), मुटु र छालासम्बन्धी रोगको जोखिम बढ्ने अध्ययनमा उल्लेख गरिएको छ।
६) गर्मीले मस्तिष्कमा असर, मानसिक समस्या बढ्दै
BBC को रिपोर्ट अनुसार तापक्रमको चरम वृद्धिले मस्तिष्कमा गम्भीर असर पारिरहेको छ। अत्यधिक गर्मीका कारण स्ट्रोक, मस्तिष्क सुन्निने, माइग्रेन, चिडचिडोपन, डिप्रेसन र हिंसात्मक प्रवृत्तिको वृद्धि भएको पाइएको छ। गर्मीले मानसिक सन्तुलन र भावनात्मक नियन्त्रणमा समेत असर पार्ने हुँदा विशेष गरी बालबालिका, वृद्धवृद्धा र मानसिक रोगीहरू उच्च जोखिममा पर्ने देखिएको छ।
७) मधेसमा डिप बोरिङ योजना, विशेषज्ञद्वारा आलोचना
सुखाग्रस्त मधेस क्षेत्रमा सरकारले ५०० भन्दा बढी डिप बोरिङ गाड्ने निर्णय गरेको छ। यद्यपि जल स्रोत तथा वातावरण विज्ञहरूका अनुसार यो कदमले तत्काल पानीको समस्या समाधान गरे पनि दीर्घकालमा भुजलको अत्यधिक दोहन हुने र जमिनभित्रको पानीको स्तर खस्कने खतरा रहेको छ। उनीहरूले सतही पानी व्यवस्थापनमा जोड दिन र वर्षा पानी संकलन जस्ता दिगो समाधानमा ध्यान दिन सुझाव दिएका छन्।
सम्पादनः राम खत्री
स्रोतः Times of India, Al Jazeera, CNN, BBC, The Weather Channel, Euronews




