दशौँ वर्षपछि अस्ट्रेलियाको पूर्वी क्षेत्रका अधिकांश भागहरू बाक्लो हिउँले ढाकिएका छन्।
अस्ट्रेलियाको मौसम विभागकी मौसमविद् मिरियम ब्राडबरीका अनुसार, १९८० को दशकपछि यो पहिलोपटक हो, जब केही स्थानहरूमा १६ इन्च (४० से.मी.) सम्म हिउँ जमेको छ।

उहाँका अनुसार, यस प्रकारको हिमपात अस्ट्रेलियाको जलवायु प्रणालीमा भइरहेको गहिरो परिवर्तनको संकेत हो। उहाँले भन्नुभयो ,”जलवायु परिवर्तनले अस्ट्रेलियाको मौसमलाई अनिश्चित र चरम बनाउँदै लगेको छ।”
यस पटकको असामान्य हिमपात केवल न्यू साउथ वेल्स (NSW) का साथै क्विन्सल्यान्ड राज्यका उच्च भूभागहरूमा पनि दशकौँपछि पहिलोपटक हल्का हिउँ परेको छ। यस्तो हिमपातलाई त्यहाँका स्थानीयवासीहरूले अत्यन्त दुर्लभ घटना मानेका छन्।
राज्य आपतकालीन सेवा (SES) का अनुसार, शनिबारदेखि आइतबार बिहानसम्म १४५५ भन्दा बढी आपतकालीन घटना रिपोर्ट भएका छन्। तीमध्ये अधिकांश घटना सडकमा सवारी साधनहरू हिउँ वा बाढीमा फस्नु, रुख ढल्नु, तथा बिजुली लाइनमा क्षति पुग्नु लगायतका छन् ।
हावाहुरीले कतिपय स्थानका घर र भवनहरूमा क्षति पुर्याएको छ भने २७ हजार बढी परिवारहरू बिजुली विना अन्धकारमा बस्न बाध्य भएका छन्।
यसैबीच, न्यू साउथ वेल्स प्रहरीका अनुसार, शनिबार साँझ एउटा कार बाढीले करिब २० वर्षकी एक महिला यात्रुलाई बगाएको हो । उनी हालसम्म बेपत्ता छिन्, भने उनको खोजी कार्य आइतबारसम्म पनि जारी रहेको प्रहरीले जनाएको छ।
News source: Reuters




