जापानको एक तिहाइभन्दा बढी मौसम मापन केन्द्रहरूले ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम मापन गरेका छन्। जापान मौसम विभागका अनुसार आइतबार देशभर रहेका करिब ९०० अवलोकन केन्द्रमध्ये ३१९ स्थानमा तापमान ३५ डिग्री वा सोभन्दा बढी पुगेको छ।
ओसाका सहरमा ३७.२ डिग्री र टोकियोको केन्द्रमा ३६.१ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ। अन्य धेरै सहरहरूमा पनि तापक्रम निकै उच्च रहँदै आएको छ।

यसअघि बुधबारदेखि शनिबारसम्म जापानका केही स्थानहरूमा तापक्रम ४० डिग्रीसम्म पुगेको थियो। तोकुशिमा प्रान्तको मीमा, गिफु प्रान्तको इबिगावा र कोफु शहरहरूमा तापक्रम ३९ डिग्रीभन्दा माथि मापन गरिएको थियो। मौसम विभागले यस्तो चरम गर्मीलाई खतराको संकेतका रूपमा लिएको छ।
तोहोकुदेखि ओकिनावा प्रान्तसम्म फैलिएका ३२ वटा प्रान्तमा हीटस्ट्रोकको चेतावनी जारी गरिएको छ। मौसम विज्ञहरूले जनतालाई घरभित्र चिसो वातावरणमा बस्न, एयर कन्डिसनर (एसी) प्रयोग गर्न, प्रशस्त पानी तथा जुस सेवन गर्न र बाहिरी गतिविधिमा नियमित रूपमा विश्राम लिन आग्रह गरेका छन्।
Source: Japan broadcasting corporation




