पृथ्वीको उत्तरी ध्रुवमा अवस्थित स्वालवर्ड क्षेत्र पृथ्वीको अन्य भागको तुलनामा सातगुना छिटो तातदै गएको वैज्ञानिक अनुसन्धानले देखाएको छ। जलवायु परिवर्तनको यस्तो तीव्र प्रभाव देखिएपछि वैज्ञानिकहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
सधैँ हिउँले ढाकिएको मानिने स्वालवर्डमा सन् २०२५ को फेब्रुअरीमा अध्ययन गर्न गएको वैज्ञानिक टोलीले यसपटक अनौठो दृश्य देखेको थियो । जहाँ हिउँको सट्टा हरियाली र फूल फुलेको थियो । ‘नेचर कम्युनिकेसन’ नामक वैज्ञानिक पत्रिकामा प्रकाशित प्रतिवेदन अनुसार, डा. जेम्स ब्राडलीको नेतृत्वमा क्विन मेरी युनिभर्सिटी अफ लन्डनको टोलीले यस्तो अप्रत्याशित मौसम परिवर्तनको अवलोकन गरेको हो।

डा. ब्राडलीका अनुसार, “हामी अत्यधिक चिसो र हिउँको लागि तयारी गरेर गएका थियौं, तर पग्लिएको पानी र हरियाली देख्दा हामी स्तब्ध भयौं। हाम्रो थर्मल कपडा, मोटा पञ्जा र बाक्ला लुगा त्यहाँ अनावश्यक लागे।”
टोलीले नयाँ परेको हिउँको अध्ययन गर्ने उद्देश्यले यात्रा गरे पनि दुई हप्ताको अवधिमा ताजा हिउँ केवल एकपटक मात्र भेटिएको अध्ययनकी सह-लेखिका लाउरा मोलारेस मोनकायो बताउनु भएको छ। “अधिकांश समय वर्षा मात्र भयो, जुन अप्रत्याशित थियो,” उहाँले भन्नुभयो।
जलवायु परिवर्तनको असर अब केवल भविष्यको खतरा होइन, वर्तमानको यथार्थ भएको अध्ययनले देखाएको छ। वैज्ञानिकहरूका अनुसार स्वालवर्डमा भइरहेको यो प्रकारको तापमान वृद्धिले त्यहाँको पर्माफ्रस्ट पग्लन थालेको छ।
पर्माफ्रस्ट भनेको पृथ्वीको सतहमुनि कम्तीमा दुई वर्षसम्म लगातार जमिरहने माटो वा चट्टान हो, जुन मुख्यतया आर्कटिक क्षेत्र, साइबेरिया, क्यानडा र अलास्कामा पाइन्छ। जब यो पग्लन्छ, त्यसबाट कार्बन डाइअक्साइड र मिथेनजस्ता हरितगृह ग्यास निस्कँदा पृथ्वीको तापक्रम झन् बढ्ने खतरा पैदा हुन्छ।
यसैगरी अन्टार्कटिकामा पनि तापक्रम शून्य डिग्री सेल्सियसभन्दा माथि पुग्न थालेको र त्यसले हिउँ पग्लाउने दर तीव्र बनाएको वैज्ञानिकहरूले चेतावनी दिएका छन्।
परिणामस्वरूप, त्यहाँको जैविक विविधता संकटमा पर्दै गएको र वातावरणमा थप हरितगृह ग्यासहरू मिसिने सम्भावना बढेको उनीहरूको भनाइ छ। वैज्ञानिकहरूले जलवायु परिवर्तनको असरलाई रोक्न तत्काल प्रभावकारी कदम चाल्न आवश्यक रहेको सुझाव दिएका छन्।




