जलवायु परिवर्तनका संकेतहरू विश्वका विभिन्न स्थानहरूमा प्रस्ट देखिन थालेका छन्, । पछिल्लो चेतावनी अन्टार्टिकाबाट आएको छ। वैज्ञानिकहरूका अनुसार पछिल्लो केही दशकमा अन्टार्टिकामा जमेको हिउँ तीव्र रूपमा पग्लिँदै गएको छ, जसले पृथ्वीको जलवायु सन्तुलनमा गम्भीर असर पार्न सक्छ।
द कुलडाउन (The Cool Down) समाचार संस्थाले एयरबस कम्पनीलाई उद्धृत गर्दै प्रकाशित गरेको रिपोर्टअनुसार, अन्टार्टिकाको हिउँ २० वर्षको अवधिमा करिब ५ प्रतिशतले घटिसकेको छ। यो तथ्य निकै चिन्ताजनक छ, किनभने अन्टार्टिका पृथ्वीको सबैभन्दा ठूलो हिउँ भण्डारण क्षेत्र हो।

वैज्ञानिकहरूको अध्ययन अनुसार, यो क्षेत्रमा प्रत्येक वर्ष औसतमा २७३ अर्ब मेट्रिक टन हिउँ पग्लिरहेको छ। यो अत्यधिक पग्लिने दरले विश्वको समुद्री सतहमा उल्लेखनीय वृद्धि गरिरहेको छ, जसले गर्दा समुन्द्री किनारका सहरहरू डुब्ने जोखिम अत्यधिक बढेको छ।
एयरबस कम्पनीले वैज्ञानिकहरूलाई उच्च गुणस्तरको सेटेलाइट तस्बिरहरू उपलब्ध गराउँदै आएको छ। यस्ता चित्रहरूको सहायताले वैज्ञानिकहरूले अहिलेका परिवर्तनहरूलाई विगतका अवस्थासँग तुलना गर्न सक्ने भएकाले जलवायु परिवर्तनका ढाँचाहरू बुझ्न थप सहज भएको बताइएको छ।
विशेषज्ञहरूका अनुसार, यदि हालको जस्तै दरमा अन्टार्टिकाको हिउँ पग्लिरहने हो भने, समुद्री सतहको वृद्धिले संसारभरि करोडौं मानिसहरूको जीवन, पूर्वाधार, र पर्यावरणमा गम्भीर असर पार्न सक्छ।
विशेषगरी, नेपालजस्ता पहाडी देशहरूले पनि यसबाट अप्रत्यक्ष असर भोग्न सक्ने विज्ञहरूको चेतावनी छ।




