जापानमा आज मंगलबार तापक्रम ४१ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।
जापान बोर्डकास्टिङ कर्पोरेशनको अनुसार उत्तर टोकियोको इस्काई सहरमा तापक्रम ४१.८ डिग्री सेल्सियससम्म मापन गरिएको छ, जुन अहिलेसम्मकै उच्च तापक्रममध्ये एक हो।

दिउँसो २:३० बजे सम्म टोकियो समेत पर्ने कान्तो कोशिन क्षेत्रका १२ वटा मौसम अवलोकन केन्द्रहरूमा तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा माथि मापन गरिएको समचारमा उल्लेख छ।
यस गर्मीको मौसममा मात्रै जापानभर ५३ हजारभन्दा बढी मानिस गर्मीजन्य स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका छन्। पछिल्ला केही दिनयता देशभरि तापक्रम लगातार वृद्धि हुँदै गएको छ, जसले सर्वसाधारणको जनजीवन प्रभावित बनाएको छ।
सरकारले यस्तो खतरनाक गर्मीको बीचमा आम नागरिकलाई घरभित्रै बस्न, पर्याप्त पानी पिउन र एयर कन्डिशन(AC) को प्रयोग गर्न सुझाव दिँदै सतर्कता अपनाउन आग्रह गरेको छ।
यस गर्मीको असर कृषि क्षेत्रमा पनि गम्भीर देखिएको छ। अत्यधिक तापक्रमका कारण धानबालीमा प्रतिकूल प्रभाव पर्ने जोखिम बढेको भन्दै सरकार तत्काल समाधानका लागि कदम चाल्ने तयारीमा लागेको बताइएको छ।
सन् २०२३ मा पनि यस्तै खतरनाक गर्मीका कारण धानबालीमा व्यापक क्षति पुगेको थियो। त्यसको प्रत्यक्ष असर सन् २०२४ र २०२५ मा चामलको आपूर्ति घटेर मुलुकमा चामलको अभाव देखिएको थियो। सरकारले आगामी महिनाहरूमा यस्तो खाद्य संकट नदोहोरियोस् भनेर सिंचाइ, मल र ताप सहने बिउ प्रणालीलाई सुधार गर्ने योजना अघि सारेको छ।
जापानको मौसम विभागका अनुसार अझ केही दिन अत्यधिक गर्मी कायम रहने सम्भावना भएकाले थप सतर्कता अपनाउनुपर्ने चेतावनी दिइएको छ।




