भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लास्थित धाराली गाउँमा हालै आएको विनाशकारी बाढीको कारण बादल फाट्नु (cloudburst) नभई ग्लेसियर खस्नु (glacier collapse) वा हिमताल फुट्नु हुनसक्ने भारतीय वैज्ञानिक तथा विज्ञहरूले जनाएका छन्।
घटनाको समयमा सो क्षेत्रमा अत्यन्तै थोरै वर्षा मापन गरिएको थियो। भारतीय मौसम विभागका अनुसार बाढी आउनुभन्दा अगाडिको २४ घण्टामा मंगलबार त्यहाँ औसतमा ११ मिलिमिटरदेखि अधिकतम २७ मिलिमिटर वर्षा मात्र भएको थियो। सामान्यतया बादल फाट्दा केही मिनेटमै १०० मिलिमिटर वा सोभन्दा धेरै पानी पर्ने गर्छ। यही आधारमा मौसम विज्ञहरूले यसलाई बादल फाटेको घटना नभएको निष्कर्ष निकालेका छन्।

वैज्ञानिकहरूको प्रारम्भिक अनुसन्धानमा बाढी आएको स्थानभन्दा माथिल्लो क्षेत्रमा दुईवटा हिमताल रहेको देखिएको छ। टाइम्स अफ इन्डियाको अनुसार यीमध्ये कुनै एक वा दुबै तालहरू फुटेर अचानक ठूलो मात्रामा पानी तल झरेको हुनसक्ने आशंका गरिएको छ।
साथै, उपग्रहबाट लिइएका तस्बिरहरूले प्रभावित क्षेत्रमाथि ग्लेसियर र हिमतालहरू रहेको प्रस्ट देखाएको छ, जसले एकैचोटि पानीको ठूलो बहाव निम्त्याएर बाढी ल्याएको हुनसक्छ। वैज्ञानिकहरू सम्भावित हिमपहिरो वा ग्लेसियर खस्ने घटनाबाट पनि ताल फुटेको हुनसक्ने विश्लेषण गरिरहेका छन्।
भारतको राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रका अनुसार उत्तराखण्डमा हाल १२६६ वटा हिमताल पहिचान गरिएका छन्। तीमध्ये १३ वटा ताल उच्च जोखिममा रहेका छन् भने तीमध्ये ५ वटा ताललाई अति जोखिमपूर्ण अर्थात् तुरुन्तै फुट्नसक्ने सम्भावना सहितको तालको रुपमा वर्गीकृत गरिएको छ।
धाराली गाउँमा आएको यो आकस्मिक बाढीले भारतको हिमाली क्षेत्रहरूमा बढ्दो जलवायु संकट र त्यसले निम्त्याउन सक्ने प्राकृतिक विपदहरूको गम्भीरता फेरि एकपटक देखाएको छ।
नेपालको सन्दर्भमा पनि यस्ता घटना गम्भीर सन्देश हुन्। नेपालका हिमाली क्षेत्रमा पनि सयौं हिमताल छन् र जलवायु परिवर्तनका कारण ती तालहरू विस्तार हुँदै गइरहेका छन्। समयमै सतर्कता र निगरानी नअपनाए नेपाल पनि यस्ता भयावह घटनाको शिकार बन्न सक्ने खतरा कायमै छ।




