भारतमा विद्युत उत्पादनमा कोइलाको प्रयोग घट्दो क्रममा छ। जुलाई महिनामा कोइलाको मौज्दात (स्टक) १३ प्रतिशतले घटेको समाचार संस्था रोइटर्सले जनाएको छ। यो गिरावट पछिल्ला दस वर्षको औसत गिरावट २% को तुलनामा निकै तीव्र हो।
कोइलाको प्रयोगमा आएको गिरावटसँगै, हरित ऊर्जाको योगदान उल्लेखनीय रूपमा बढेको छ। जुलाईमा जलविद्युत उत्पादन २२.४% ले र नवीकरणीय ऊर्जा उत्पादन १४.४% ले बढेको छ।

गत वर्षको जुलाईमा भारतको विद्युत उत्पादनमा कोइलाको हिस्सा ६८.३% थियो। यस वर्ष भने त्यो घटेर ६४.३% मा झरेको छ, जुन पछिल्लो पाँच वर्षयताको सबैभन्दा न्यून स्तर हो।
यसबाहेक, भारतको सबैभन्दा ठूलो कोइला उत्पादक कम्पनी ‘कोल इंडिया’ को आपूर्ति र उत्पादनमा पनि गिरावट देखिएको छ। जुलाईमा कोइला आपूर्ति करिब ७.५ मिलियन मेट्रिक टनले घटेको उल्लेख गरिएको छ।
भारत चीनपछि विश्वकै दोस्रो ठूलो कोइला उत्पादक तथा उपभोक्ता मुलुक हो।
विश्लेषकहरूका अनुसार कोइलाको मौज्दात घट्नुका प्रमुख कारणहरूमा अत्यधिक तापमानले विद्युत माग बढ्नु, ढिलो वर्षाका कारण जलविद्युत उत्पादनमा सुरुवातमा कमी हुनु र कोइला आपूर्ति श्रृंखलामा अवरोध आउनु रहेका छन्।




