युरोपभरिको ऐतिहासिक गर्मी लहर र फैलिएको वन आगलागीले जनजीवनमा गम्भीर प्रभाव पारेको छ। स्पेन, अल्बानिया, मोन्टेनेग्रो र हंगेरीमा हालसम्म चार जनाको मृत्यु भएको पुष्टि भएको छ। हजारौं परिवारले घर छोड्नुपरेको छ भने सरकार र सुरक्षा निकायहरू बेलाबेलामा राहत तथा नियन्त्रण प्रयासमा खटिरहेका छन्।
स्पेनको राजधानी म्याड्रिड वरपरको घोडा फार्ममा आगलागी हुँदा एक कामदारको ज्यान गएको छ।

पूर्वी क्याटालोनियाको लेडियामा फलफूल टिप्न गएका ६१ वर्षीय हंगेरीयन मौसमी कामदारलाई अत्यधिक गर्मीका कारण निधन भएको आशंका गरिएको छ।
त्यसैगरी अल्बेनियामा गर्मीकै कारण एकजनाको मृत्यु भएको छ भने मोन्टेनेग्रोमा पनि एक आर्मीको मृत्यु भएको छ।
इबेरियन प्रायद्वीपको दक्षिणी छेउ तारिफामा युकलिप्टस र सल्लाको जंगलबाट फैलिएको आगोले २,००० भन्दा बढी मानिसलाई सुरक्षित क्षेत्रमा सार्नुपर्ने स्थिति सिर्जना गरेको छ।
स्पेनका कतिपय क्षेत्रमा तापक्रम ४४°C सम्म पुगेको छ, जसले आगोलाई अझ तीव्र बनाइरहेको छ।
स्पेनको ठूलो क्षेत्र कास्टिला एण्ड लियोनमा मंगलबार मात्र ३२ वटा वन आगलागीका घटना रिपोर्ट भएका थिए ।करिब १,२०० दमकलकर्मी अग्नि नियन्त्रणमा खटिएका छन्। हजारौं बासिन्दालाई घर खाली गर्न निर्देशन दिइएको छ।
सैनिक आपतकालीन इकाइ (UME) र राष्ट्रिय सेवाहरू सतर्क अवस्थामा रहेका छन्।
स्पेनको आन्तरिक मन्त्रालयले राष्ट्रिय सेवाहरूलाई ‘पूर्व–आपतकालीन अवस्था’ मा राखेको छ। १,००० भन्दा बढी सैनिक विभिन्न आगलागी प्रभावित क्षेत्रमा सक्रिय छन्। सरकारले आगामी केहि दिन तापक्रम झन बढ्ने पूर्वानुमान गरेकोले जनतालाई सतर्क र बचावका उपाय अपनाउन आग्रह गरेको छ।
युरोपभरि गर्मीले सिर्जना गरेको यो संकट वातावरण, स्वास्थ्य र पर्यटन क्षेत्रका लागि चुनौति बन्न पुगेको छ। माथिल्लो सतहमा राहत र नियन्त्रण प्रयास तिव्र भए पनि दीर्घकालीन जलवायु परिवर्तनसँग जुध्न ठोस योजना र अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य देखिन्छ।




