जलवायु परिवर्तनका कारण इटलीको उत्तरी लोमबार्डीस्थित भेन्टिना हिमनदी तीव्र रूपमा पग्लिँदै गएको छ। वैज्ञानिकहरूले हिउँको मापन गर्न प्रयोग गर्दै आएको १३० वर्ष पुरानो प्रविधि अब काम नलाग्ने अवस्थामा पुगेको द वासिङ्टन पोस्टले जनाएको छ।
हिमनदी पग्लिएपछि मापनका लागि राखिएका काठका खम्बा पहिरो र ढुङ्गाले पुरिएका छन्। भूगर्भविद्हरूका अनुसार भेन्टिना हिमनदी १.७ किलोमिटर छोटो भइसकेको छ भने पछिल्लो १० वर्षमा यसको लम्बाइ ४३१ मिटरले घटेको छ।

इटालीको उत्तरतर्फ फैलिएको अल्पस, डोलोमाइट्स र एपेनाइन क्षेत्रमा रहेका हिमनदीहरू पनि निरन्तर सुक्दै गएका छन्। लम्बार्डी सेवाका अनुसार अल्पस क्षेत्र जलवायु परिवर्तनको हटस्पट बनेको छ, जहाँ औद्योगिक युग अघिको तुलनामा ६४% हिमनदी भूभाग हराइसकेको छ।
भेन्टिना क्षेत्र अस्थिर बन्दै गएकाले आगामी दिनमा वैज्ञानिक अध्ययन गर्न कठिन हुने चेतावनी विज्ञहरूले दिएका छन्।
नेचर जर्नलमा प्रकाशित एक रिपोर्ट अनुसार सन् २००० देखि २०११ सम्म विश्वभरि प्रत्येक वर्ष २५० बिलियन टन हिमनदीको हिउँ हराइरहेको छ। आउँदो दशकमा यो दर ३४६ बिलियन टन पुग्ने अनुमान गरिएको छ।




