भारतको मुम्बईमा यो हप्ताको बुधबारसम्म ८०० मिलिमिटरसम्म पानी परेको छ।
अत्याधिक वर्षा भएपछि त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ भने २१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

एक मोनोरेल अत्यधिक भीडका कारण बीचमै रोकिएको थियो, जसमा ६०० यात्रु फसेका थिए। २३ जनालाई श्वासप्रश्वासको समस्या देखिएको थियो।
अत्याधिक वर्षापछि पानी जमेर मानिसको घुडासम्म पुगेको फोटो तथा भिडियोमा देख्न सकिन्छ।
भारतीय मौसम विभागले मुम्बई लगायतका सहर र जिल्लाहरूमा उच्च सतर्कता अपनाउन भनेको छ । बिहिबार त्यहाँ ठूलो पानी पर्ने सम्भावना रहेको समाचारमा उल्लेख छ।।
अत्याधिक वर्षापछि कलेज र स्कुल बन्द गरिएको छ।
३५० भन्दा बढी मानिसलाई पानी जमेको ठाउँबाट अर्को ठाउँमा सारिएको समाचारमा उल्लेख छ।
विगतका केही दिनमा ५० वटा हवाई उडान रद्द भएको हो।
मुम्बई डुबान हुनुमा सरकारको कमजोरी भएको प्रतिपक्षीले आरोप लगाएका छन्।
शिवसेनाका आदित्य ठाक्रेले मौसम विभागले रेड अलर्ट जारी गर्दा पनि सरकार ले शून्य तयारी गरेको भन्दै सरकारको शासन पतन भएको आरोप लगाउनुभएको छ।
यसैबीच, धेरै नागरिकहरूले सामाजिक सञ्जालमार्फत शहरको कमजोर पूर्वाधार र योजनाको अभावप्रति आक्रोश व्यक्त गरेका छन्।
मुम्बई भारतको सबैभन्दा धनी शहरहरूमध्ये एक हो, जसले देशको कुल गार्हस्थ उत्पादन (GDP), औद्योगिक उत्पादन र व्यापारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
१ करोड भन्दा बढी जनसंख्या भएको यो शहरले देशभरिका मानिसहरूलाई रोजगारी र अवसरको खोजीमा आकर्षित गर्दै आएको छ। मुम्बई लामो समयदेखि श्रमिक, व्यवसायी, र पेशेवरहरूको गन्तव्य बन्दै आएको छ।




